ई–आर्थिक, काठमाडौं । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको निधन भएको छ । मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका आचार्यको उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार बिहान निधन भएको हो ।
आगो सल्किएपछि गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । तर उनको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
पञ्चकन्या–६ इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल खनाएर हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्याएको थियो । उनको शरीर ८० प्रतिशत जलेको थियो ।

उनले आफु युवा उद्यमी बन्न लागिपरेको र ६० लाख ऋणको भारीले थिचिएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेको भेटिएको छ । उनले युवा उद्यमी बनेर देशमै केहि गर्ने प्रयास गरेका थुप्रै कामको विवरणहरु समेत स्टाटसमा समेटेका छन् । त्यस्तै आचार्यले बिभिन्न कामहरु गर्ने प्रयासका क्रममा आफुलाई ६० लाख रुपैयाँ ऋण लागेको उल्लेख गरेका छन् । गौतमले अब देशमै केहि गर्न सकिन्न भन्ने निष्कर्ष निकाल्दै त्यत्रो ऋण तिर्ने सामर्थ्य पनि आफुसँग नभएको भन्दै ‘म क्रान्ति गर्दैछु’ भनेर आत्मदाहको प्रयास गरेको उल्लेख गरेका हुन् ।
उनी इलाम सुर्योदय नगरपालिका ११ केराबारीका स्थानीय हुन् ।