ई–आर्थिक, ढल्केवर । सेवाग्राहीको लाखौं रुपियाँ ठगी गरेको आरोपमा धनुषाको जनकपुरमा रहेको शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष ध्रवनारायण यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका संचालक समितिका पूर्वसदस्यसमेत रहेका यादवलाई उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो ।
पक्राउ परेका यादवमाथि स्थानीय कुभोलियादेवी यादवको रकम अपचलन गरेको आरोप छ । कुभोलियादेवीले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपियाँ ऋण लिएको र पछि सो रकम चुक्ता गरेपनि यादवले जग्गा फुकुवा नगरी लिलामीको अवस्थामा पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।
सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरी अध्यक्ष यादवले करिब २५ लाख रुपियाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको देखिएको प्रहरीको भनाई छ । पक्राउ परेका सहकारीका अध्यक्ष यादवमाथि मङ्गलबार जिल्ला अदालत धनुषाबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।