२०८३ साउन १० आइतबार

आन्तरिक पर्यटक तान्दै कालीगण्डकी जल यातायात, एकपटकमा दुई सय ४० जनालाई जलविहार

ई आर्थिक    बुधबार, पौस २० २०७९
6.9K
Shares
आन्तरिक पर्यटक तान्दै कालीगण्डकी जल यातायात, एकपटकमा दुई सय ४० जनालाई जलविहार

गण्डकी । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटर दूरीमा १९ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा छ । जल यातायात सेवाको अनुभव लिन आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ ।

जल यातायात सेवाबाट दक्षिण पर्वतका विहादी र पैंयू गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बागलुङका बासिन्दा लाभान्वित हुने गरेका छन् । साथै यसले यहाँको पर्यटन प्रवद्र्धनमा निकै योगदान गरेको शालिग्राम कालीगण्डकी जल यातायात प्रालिका सुपरभाइजर कृष्ण क्षेत्रीले बताए ।

‘हाल तीनओटा स्टिमरबाट पर्यटकलाई सेवा दिइरहेका छौं,’ उनले भने, ‘एउटामा ८० जनाका दरले एकपटकमा दुई सय ४० जनालाई जलविहार गर्ने व्यवस्था मिलाएका छौं ।’

जल यातायात सेवा सञ्चालनले चार घण्टाको यात्रा आधा घण्टामा सीमित भएको स्थानीय रमेश सुवेदीले बताए । ‘स्टिमर सेवा सञ्चालनले कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयवासी धेरै लाभान्वित बनेका छन्,’ उनले भने, ‘यसबाट यस क्षेत्रको पर्यटकीय विकासमा विशिष्ट योगदान पुगेको छ ।’

जल यातायातबाट पर्वतको सेतीवेणीस्थित विश्वकै ठूलो दाबी गरिएको शालिग्राम शिलाको दर्शन गर्न जान सकिने भएकाले यो धार्मिक पर्यटनको गन्तव्य पनि बनेको छ । काठका ठूला तथा मझौला डुंगामा मालवाहक गाडीको इञ्जिन जडान गरेर बनाइएका स्टिमरमा चढ्दा रमाइलो अनुभव भएको तनहुँको बन्दीपुरबाट घुम्न पुगेका निकेश श्रेष्ठले बताए ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट २०६२ सालमा स्वीकृति लिएर सञ्चालनमा आएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको हो । विगतमा १२ ओटासम्म साना तथा ठूला स्टिमर निरन्तर सञ्चालन आए पनि अहिले भने तीनओटा मात्रै सञ्चालनमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij