२०८३ साउन १० आइतबार

विराटनगरका उद्योगीसँग अर्थमन्त्रीको प्रतिबद्धता : ‘उद्योगीका समस्या समाधान गर्छ’

ई आर्थिक    बिहिबार, पौस १४ २०७९
6.8K
Shares
विराटनगरका उद्योगीसँग अर्थमन्त्रीको प्रतिबद्धता : ‘उद्योगीका समस्या समाधान गर्छ’

ई–आर्थिक, विराटनगर । विराटनगरका उद्योगी र सरकारबीचको वार्ता ‘सकारात्मक दिशा उन्मुख’ भएको उद्योगीहरुले बताएका छन्।

सडक आन्दोलन गरिरहेकै बेला नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि आन्दोलन रोकेर काठमाडौं गएका उद्योगीहरुले बुधबार अर्थमन्त्री पौडेलसँग छलफल गरेका थिए । त्यसक्रममा अर्थमन्त्री पौडेलले समस्या समाधानको आश्वासन दिएको वार्तामा सहभागी उद्योगीहरुले बताएका छन् ।

‘तपाइँहरुलाई मैले नै वार्ताका लागि बोलाएको हुँ’, उद्योगीहरुसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘तपाइँहरुको समस्याप्रति गम्भीर छु । अब छिटै राष्ट्र बैंकका गभर्नरसँग पनि सल्लाह गरेर समस्याको समाधान निकाल्नेछु ।’

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालका अनुसार अर्थमन्त्रीले समस्याको निकास निकाल्न प्रयास गर्ने भन्दै आन्दोलन फिर्ता लिइदिन आग्रह गरेका थिए । सोही अनुसार आन्दोलन केही समयलाई स्थगन गरिएको मोरङ व्यापार संघले जनाएको छ ।

निजी क्षेत्रका विभिन्न संघसंस्थाको अगुवाईमा सुरु भएको आन्दोलन निष्कर्षमा नपुगेसम्म जारी रहने उद्योगीहरुको भनाइ थियो । खासगरी राष्ट्रबैंकको नीतिले आफूहरु मारमा परेको उनीहरुको भनाइ छ ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश नम्बर १ समिति गत बिहीबारदेखि आन्दोलनरत थिए । चर्को ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा निर्देशिकाको विपक्षमा रहेका उद्योगी आन्दोलनमा उत्रिएका हुन्। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, सीएनआईको प्रदेश नम्बर १ समितिसहित छलफलमा विराट व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ, सुनचाँदी व्यवसायी संघ, नाडा प्रदेश समिति र वस्तुगत संघहरु छलफलमा सहभागी थिए ।

आन्दोलनमा उत्रिएका व्यवसायीले बिहीबार र शुक्रबार नेपाल राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको मुख्य प्रवेशद्वारमा प्रदर्शन गरेका थिए। एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेडदर दुई प्रतिशत कायम गर्नुपर्ने, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत कायम गरिनुपर्ने उनीहरुको माग छ। त्यस्तै बैंकर र व्यवसायीलाई अलग–अलग गर्नुपर्ने माग पनि उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij