ई–आर्थिक, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा प्रिमियम थप गरी ४ लाख १६ हजार १४७ कित्ता एफपीओ जारी गर्न लागेको हो ।
कम्पनीले एफपीओ जारी गर्नका लागि विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
हाल यस कम्पनीको चुक्तापूँजी रू. २८ करोड २१ लख ६९ हजार रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. ५८ लाख २८ हजार खुद नाफा गरेको कम्पनीको सो अवधिसम्म वितरणयोग्य नाफा रू. २ लाख १ हजारभन्दा बढी छ । कम्पनीले देशका विभिन्न स्थानमा ६४ ओटा शाखा कार्यालयमार्फत ८० हजारभन्दा बढी परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले गत आर्थिक वर्षको लाभांश सार्वजनिक गर्न बाँकी छ । गत वर्ष कम्पनीले २६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । विगत पाँच वर्षको लाभांश वितरणको अवस्था हेर्दा कम्पनीले अधिकतम ६० प्रतिशतसम्म लाभांश वितरण गरेको तथ्यांक रहेको छ ।
आर्थिक वर्ष ०७३/७४ को मुनाफाबाट कम्पनीले ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।