ई–आर्थिक, काठमाडौं । काठमाडौंमा १९औं हस्तकला व्यापार मेला तथा १७औं कला प्रतियोगिता आयोजना गरिएको छ । बौद्धस्थित ह्यात रिजेन्सीमा शुक्रवारदेखि शुरू भएको यो प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
मेलामा हस्तकलाका वस्तुको सयभन्दा बढी स्टल छन् । नेपाली हस्तकला सामानको राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारीकरण तथा प्रचारप्रसार गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त मेला आयोजना गरिएको महासघंका उपाध्यक्ष नवीन शाक्यले बताए । विदेशी मुद्राको सञ्चिति, व्यापार घाटा नियन्त्रण र रोजगारी सृजनामा अग्रणी रहेको यस क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि सरकारको ठोस सहयोग हुनुपर्नेमा उनले जोड दिए ।
मेलामा एकै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा विक्री, उत्कृट स्टल तथा प्याभिलियन प्रतियोगिता, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरूप वस्तुहरूको प्रदर्शन, परम्परागत तथा नवोधित हस्तकलाको शीप प्रदर्शनी र क्राफ्ट प्रतियोगिता समेत हुँदै छ ।
मेला एक लाख आगन्तुकले अवलोकन गर्ने अनुमान छ । प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डर समेत गरी मेलामा १० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
हाल नेपालबाट ८० मुलुकभन्दा बढी देशमा १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका वस्तु निकासी भइरहेको महासंघले बताएको छ । सोही अनुपातमा स्वदेशी बजारमा पनि कारोबार हुँदा राष्ट्रिय अर्थतन्त्रमा २४ अर्बको योगदान दिँदै आएको महासंघको दाबी छ ।