सरकारले विदेशी विनिमय सञ्चिति कम भएको भन्दै सवारी आयातमा प्रतिबन्ध लगाएपछि ५८ सोरूम बन्द, ९५ वटा बन्द हुने जोखिममा
विमल खतिवडा, काठमाडौँ : सरकारले आयातमा प्रतिबन्ध लगाएसँगै सवारीसाधन नपाइँदा देशभर विभिन्न सवारीका सोरुम बन्द हुन थालेका छन् । विदेशी विनिमय सञ्चिति कम भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ मा राजपत्रमा सूचना प्रकाशन गर्दै १० वस्तुको आयातमा रोक लगाउने निर्णय गरेपछि सवारी आयात हुन सकेको छैन । जसले गर्दा अहिले देशभर दुई र चारपांग्रे कम्पनीका ५८ सोरुम बन्द भएका छन् । थप ९५ वटा सोरुम बन्द हुने स्थितिमा पुगेको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
देशभर विभिन्न सवारीका १ हजार २५ सोरुम छन् । नाडाको तथ्यांकअनुसार प्रदेश १ मा ९, मधेसमा ११, वाग्मतीमा १८, गण्डकीमा ७, लुम्बिनीमा ३, कर्णालीमा ७ र सुदूरपश्चिममा ३ वटा सोरुम बन्द भएका छन् । यससँगै ती सोरुममा कार्यरत कर्मचारी बेरोजगार बनेका छन् । सञ्चालनमा रहेका सोरुमले पनि कर्मचारीलाई बेतलबी बिदामा घर पठाउन थालेका छन् । आफ्नो कम्पनीमा कार्यरत ३० प्रतिशत कर्मचारी कटौती गरिएको नाडाका अध्यक्ष ध्रुव थापा नै बताउँछन् ।
‘सोरुममा गाडी छैनन्, कर्मचारीलाई दिन तलब र बैंकको ब्याज तिर्न आम्दानी छैन,’ थापाले भने, ‘मेरो कम्पनीमा १ सय ३५ जना कामदार रोजगार थिए, विकल्प नभएपछि ४० जनालाई बाध्य भएर बेतलबी बिदामा राखिएको छ ।’ बन्द हुने अवस्थामा पुगेका ९५ वटा सोरुममा कर्मचारी कटौती गरिएको छ, तिनलाई सुरक्षा गार्डको भरमा छाडिएको नाडाको डिलर समन्वय समिति उपाध्यक्ष सन्तोष खतिवडाले जनाए ।
सबैभन्दा बढी वाग्मतीमा ३२ वटा सोरुम बन्द हुने अबस्थामा छन् । प्रदेश १ मा १८, मधेसमा १३, गण्डकीमा ८, लुम्बिनीमा १३, कर्णाली ७ र सुदूरपश्चिम प्रदेशमा ४ वटा सोरुम बन्द हुने अवस्थामा छन् । अटोमोबाइल्स क्षेत्रमा १ खर्ब रुपैयाँभन्दा बढीको लगानी छ । यस क्षेत्रमा करिब १ लाख प्रत्यक्ष रोजगार छन् । बन्द भएका र चलिरहेका सोरुमले कर्मचारी कटौती गर्दा करिब ८ हजारको रोजगारी गुमेको अध्यक्ष थापाको भनाइ छ । सोरुम बन्द हुँदा १ अर्ब रुपैयाँ घाटा भएको नाडाले जनाएको छ ।
विद्युत्यी सवारीका बाहेक प्रायः सबै सोरुमले कामदार घटाएका छन् । ‘सोरुम भएर मात्र भएन, त्यसका लागि गाडी चाहियो, त्यही नभएपछि सोरुम चलाउन सक्ने अवस्था छैन,’ थापाले भने, ‘मौज्दात सवारी सकिइसकेका छन् । आयात प्रतिबन्ध लम्ब्याइरहँदा यो व्यवसाय नै संकटमा पर्दै गएको छ ।’ नेपालमा वार्षिक १६ खर्ब रुपैयाँका विभिन्न सामान आयात हुन्छन् । त्यसमा १८ अर्ब रुपैयाँ हाराहारीका कार, जिप, भ्यान र १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात हुन्छन् । ‘त्यसैले यसको आयात खोल्दा विदेशी विनिमय सञ्चितिमा खासै ठूलो असर पर्दैन,’ उनले भने, ‘कुल राजस्वमा अटोमोबाइल क्षेत्रको योगदान ९ प्रतिशत छ । प्रतिबन्धले सरकारलाई उल्टै घाटा भइरहेको छ ।’
सरकारले दोस्रो पटक गत असार ३१ मा राजपत्रमा सूचना प्रकाशन गर्दै पुनः उक्त वस्तुहरूको आयातमा भदौ १४ सम्म बन्देज लगाएको थियो । जसमध्ये ४ वस्तुको आयातमा पुनः असोज २८ सम्म रोक लगाइएको भए पनि त्यो समय बढाएर मंसिर मसान्तसम्म पुर्याइएको छ । अहिलेसम्म जीप, कार, भ्यान र १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध कायमै छ ।
‘सोरुम बन्द हुनुको कारण आयात प्रतिबन्ध मात्र होइन, बैंकको ब्याजदर अस्वाभाविक रूपमा बढ्नु पनि हो,’ डिलर समन्वय समिति उपाध्यक्ष सन्तोष खतिवडाले भने, ‘जसले गर्दा व्यवसाय चलाउन समस्या भएपछि सोरुम बन्द गरिएको हो ।’ विदेशी विनिमय सञ्चितिमा कमी आएपछि राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाले पनि सवारीसाधन आयातमा कमी आएको नाडाले जनाएको छ । ‘सटरै लगाएर हिँडिसकेका छैनौं । तर काम केही छैन । गाडी छैनन्, ग्राहक आउँदैनन,’ उनले भने, ‘बन्द भए सरह नै हो ।’
एउटा सोरुम खोल्न कम्तीमा एक करोड रुपैयाँ खर्च हुने अध्यक्ष थापाको भनाइ छ । ‘६ महिनादेखिको आयात प्रतिबन्धले अटोमोबाइल क्षेत्रमा अपूरणीय क्षति भएको छ,’ थापाले भने, ‘प्रतिबन्ध खुला गरे पनि पहिलाकै अवस्थामा आउन डेढ वर्ष लाग्छ ।’ कान्तिपुरबाट