ई–आर्थिक, काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले सूचना जारी गर्दै कात्तिक २५ गतेसम्म उक्त आईपीओ विक्री खुल्ला रहने जानकारी दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरका २ लाख ५० हजार कित्ता शेयर स्थानीयका लागि कात्तिक ४ गतेदेखि निष्कासन गरेको थियो । निष्कासित आईपीओमा स्थानीयले कात्तिक १८ गते (आज) सम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । तर, कम्पनीको आईपीओमा माग बमोजिम आवेदन नपरेपछि कम्पनीले समय थप गरेको बताइएको छ ।
उक्त शेयर खरीदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ साविक कुस्मीसेरा, सर्कुवा र बिनामारे गाविसका तथा जैमिनी नगरपालिकाका अन्य वडाहरूका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै, नेपाल धितोपत्र स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् । कम्पनीले बाग्लुङ जिल्लामा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।