२०८३ साउन १२ मंगलबार

कुलमानसहितको प्राधिकरणको टोली प्रदेश नं १ मा, आन्तरिक विद्युत खपत र निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै

ई आर्थिक    सोमबार, कार्तिक १४ २०७९
5.1K
Shares
कुलमानसहितको प्राधिकरणको टोली प्रदेश नं १ मा, आन्तरिक विद्युत खपत र निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै

ई–आर्थिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली स्थलगत निरीक्षणको लागी प्रदेश नं. १ को विभिन्न जिल्लामा पुगेको छ ।

देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने योजनालाई सफल बनाउन टोली त्यसतर्फ लागेको हो ।

देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्नेछ ।

विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश नं १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउनेछ । साथै, भारत र बङ्गलादेशमा विद्युत् निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधारको निर्माण गरिनेछ ।

प्राधिकरणले मुलुकमा उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन, र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नति गर्ने प्राधिकरणको कार्यक्रम छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार विद्युत् खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिएको छ ।

टोलीले भारतको पश्चिम बङ्गाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावना, बङ्गलादेशतर्फ विद्युत् निर्यातका सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थान लगायतको पहिचाहन गर्न स्थलगत अध्ययन गरेको छ । टोलीले सुनसरी, मोरङ र झापामा निर्माणाधीन र हाल सञ्चालनमा रहेका विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनाका विषयमा पनि स्थलगत अध्ययन गरी जानकारी लिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती विस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँहरुलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न लागिएको बताउनुभयो ।

‘दीर्घकालीन रुपमा भारत र बगलादेशतर्फ विद्युत् निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किशनगञ्ज बिन्दुहरु नजिक पर्ने देखिएको छ, त्यसैले ४०० केभीको इनरुवा सबस्टेसनबाट हुलाकी राजमार्गको आसपास हुँदै ४०० केभी प्रसारण लाइन निर्माण गरी झापाको अनारमनी क्षेत्रमा ४०० केभी सबस्टेसन बनाएर प्रसारण सञ्जाल विस्तार गर्नुपर्ने देखिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘यो लाइन अत्यावश्यक छ, यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय भई खपत बढ्नेछ भने भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण सञ्जाल तयार हुने छ ।’

घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बङ्गालको सिलिगुढस्थिति ४००/२२० केभी विनागुढी सबस्टेसनको भ्रमण गरी विद्युत् आयात निर्यातको जानकारी लिएको थियो । सबस्टेसनमा भुटानको ताला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ ।

प्राधिकरणको खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचान गर्ने र आन्तरिक रुपमा खपत गरी बढी भएको विद्युत् निर्यातका लागि ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण गरिनेछ ।

प्राधिकरणको उच्चस्तरीय टोलीले झापाको ग्वालडुब्बा, मोरङको केरौन, सुनसरीको इनरुवा तथा कुशहामा निर्माणाधीन सबस्टेसनहरुको निर्माण प्रगतिका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरेको थियो । टोलीले सबस्टेसनहरु भरपर्दो र विश्वसनीय विद्युत् आपूर्तिका लागि महत्वपूर्ण भएकोले जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij