२०८३ साउन १० आइतबार

सिक्टा सिँचाइ आयोजना: १७ वर्षसम्म पनि अधुरै

ई आर्थिक    आइतबार, कार्तिक ६ २०७९
7.2K
Shares
सिक्टा सिँचाइ आयोजना: १७ वर्षसम्म पनि अधुरै

नेपालगन्ज । आठ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १७ वर्ष बित्दा पनि अझै अधुरै रहेको छ । आयोजनाको निर्माण क्षेत्र विस्तार हुँदै जाँदा बजेट र समय अवधि पनि थप हुँदै गएको छ ।

२०७० सालको माघ मसान्तसम्म निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ २०६२ सालमा सुरु गरिएको उक्त आयोजनाको निर्माण कार्य गत आर्थिक वर्षसम्ममा ७२ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ । तर, हाल आएर गुरु योजना संशोधन गरी २५ अर्ब नौ करोडको लागतमा आर्थिक वर्ष २०८४-८५ मा पूरा गर्ने लक्ष्यलाई ५२ अर्ब ८९ करोडको लागत बनाई सम्पन्न गर्ने अवधि थप गरेर २०८९-९० पुर्‍याएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर विशाल यादवले बताउनुभयो ।

उहाँले आयोजनाको पहिलो फेजको काम पुरा भएर दोस्रो फेजको काम सुरु हुँदा बजेट र अवधि दुवै थप भएकोले प्रतिशतमा पनि फरक पर्ने बताउनुभयो । इन्जिनियर यादवका अनुसार सुरुमा १२ अर्ब ७० करोड लागतमा ८ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकोमा पछि क्षेत्र समेत विस्तार गरिँदै गएपछि गुरुयोजना परिमार्जन गरी २५ अर्ब ९ करोडको लागतमा आर्थिक वर्ष २०८४-८५ मा पूरा गर्ने लक्ष्य तय गरिएको थियो । तर, हाल आएर सो समयमा पनि पुरा नहुने निष्कर्षका साथ समय र बजेट थप गरेर २०८९-९० मा पुरा गर्ने गुरुयोजना संशोधन गरिएको छ ।

आर्थिक वर्ष २०७९-८० सम्म आइपुग्दा १९ अर्ब ३४ करोड रुपियाँ खर्च गरेर आयोजनाको निर्माण कार्य ७२ प्रतिशत सकिएको छ । पछिल्ला वर्षहरूमा बर्सेनि डेढ अर्ब भन्दा बढी बजेट विनियोजन हुने र विनियोजित बजेट पनि खर्च गर्न नसक्ने अवस्थाले आयोजनाको लागत र समय दुवै बढ्दै गएको तर लक्षित किसानले आवश्यक सिँचाइ सुविधा नपाइ रहेको अधिकांश किसानको गुनासो छ । गत आर्थिक वर्ष २०७८-७९ मा पनि सिक्टाका लागि विनियोजन भएको एक अर्ब १९ करोड ३७ लाख बजेटमध्ये काम हुन नसक्दा २६ करोड ५८ लाख रुपियाँ फ्रिज भएको थियो ।

कछुवा गतिको काम गराइले लक्ष्य अनुसार काम हुन नसक्दा लगानी बढ्दै गएर एकातिर देशले ठुलो आर्थिक भार खेप्नु परेको र अर्कोतिर लामो समयदेखि सिचाइको आसमा बसेका किसानले निराशा भोग्नु परेको विडम्बना रहेको विकासका लागि नागरिक सरोकार समिति बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । निर्माण सम्पन्न गर्न लाग्ने समय र लागत खर्च बढाइए पनि नहर निर्माणको कामले अझै गति लिन सकेको छैन । चालु आर्थिक वर्ष २०७९-८० मा आयोजनाले पुँजीगततर्फ एक अर्ब ८५ करोड बजेट पाएको आयोजनाले जनाएको छ ।

१६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ निर्माण कार्य सुरु भएको डढुवा शाखा नहरको निर्माण कार्य आयोजना र निर्माण कम्पनी कोष्टल पप्पु जेभी बीचको विवाद र मुद्दा मामिलाका कारण चार वर्षदेखि अलपत्र छ । जसका कारण डढुवा शाखा नहरको कमान्ड क्षेत्रमा पर्ने बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकासहित डढुवा, जानकी र खजुरा गाउँपालिकाका हजारौँ किसान सिँचाइ सुविधाबाट वञ्चित रहेको समाचार सिराज खानले गोरखापत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij