ई–आर्थिक, काठमाडौं । ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले बुधबार ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो ।
महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृतबिना, मापदण्डविपरीत निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, ¥याम्प, सिँढीलगायतका संरचना हटाउन सूचनामा भनिएको छ ।
त्यसैगरी नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनालगायत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना तोकिएको अवधिभित्र सुधार गर्न वा हटाउन पनि सूचित गरिएको छ ।