ई–आर्थिक, चितवन । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने राप्ती नगरपालिका–३ झुरङुरेको मञ्जुश्री ददाना उद्योग आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । किरण ओली सञ्चालक रहेको उक्त उद्योगमा बिहीबार राति पौने दुई बजेतिर आगलागी भएको थियो ।
उक्त दाना उद्योगको कुखुराको दाना रहेको गोदाममा विद्युत सर्ट भएर आगो लागेको थियो ।
आगलागीबाट दाना उद्योगको मेसिन, बिजुलीका सामानहरू, गोदाममा राखेको दाना नष्ट भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । आगलागीबाट एक करोड ५० लाख रूपैयाँ भन्दा बढी नोक्सानी भएको प्रारम्भिक अनुमान छ ।
बिहीबार राति १ बजेर ४० मिनेट जाँदा लागेको आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा ३ बजेर २० मिनेट जाँदा नियन्त्रणमा आएको थियो ।