२०८३ साउन १० आइतबार

२७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको परीक्षण प्रसारण सुरु

ई आर्थिक    मंगलबार, भाद्र १४ २०७९
9.6K
Shares
२७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको परीक्षण प्रसारण सुरु

ई–आर्थिक, लमजुङ । दोर्दीखोलाको पानी प्रयोग गर्ने गरी निर्मित २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाले सोमबारबाट परीक्षण प्रसारण थालेको छ । करिब ३ महिनाअघि निर्माण सकेको आयोजनाले परीक्षण प्रसारणका लागि राष्ट्रिय प्रसारण लाइन कुरिरहेको थियो ।

निर्माणाधीन २२० केभीको राष्ट्रिय प्रसारण लाइनले उदीपुरमा सबस्टेसन निर्माण गर्न ढिलाइ गरेपछि नेपाल विद्युत् प्राधिकरणले उदीपुरबाट ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रसम्म १३२ केभीको ३ किमि प्रसारण लाइन निर्माण गरेको छ । दोर्दीखोलाले आफ्नो विद्युत् गृहदेखि उदीपुरसम्म यसअघि नै ३ किलोमिटर प्रसारण लाइन बनाइसकेको छ ।

पानीको बहावमा आधारित (रन अफ रिभर) प्रकृतिको यो आयोजना ०७१ फागुनबाट निर्माण सुरु भएको हो । २८ महिना अर्थात् २०७४ असार मसान्तसम्म आयोजना निर्माण सक्ने लक्ष्य लिइएको थियो । ढिलै भए पनि आयोजना सकिएर परीक्षण प्रसारण थालेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए ।

प्रमुख शाक्यका अनुसार यसअघि आयोजनाको इन्टेकदेखि टेलरेससम्मका सबै खाले परीक्षण सफलतापूर्वक सकिएको छ । अहिले उताको (प्रसारण लाइनमा आउने करेन्ट) लाइन चार्ज गरिएको छ । केही दिनमा प्राधिकरणबाट इन्जिनियर आउँछन् । ४÷५ दिन परीक्षण हुने र त्यसपछि १५ दिन प्राधिकरणलाई निःशुल्क विद्युत् उपलब्ध हुनेछ । त्यसपछि हामी व्यावसायिक उत्पादनतर्फ जाने प्रमुख शाक्यको भनाई छ ।

असोज पहिलो साताबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन हुन्छ । त्यसअघि नै राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट विद्युत् थपिन्छ । आयोजना निर्माण सकेर सबै खाले परीक्षणमा सफलता मिलेपछि प्रसारण लाइनको परीक्षण थालिएको शाक्यले बताए ।

भूकम्प, नाकाबन्दी, वर्षा, आयोजना निर्माणका क्रममा आन्तरिक समस्या, प्रसारण लाइन अभावलगायतले निर्माण कार्य ढिला भएको प्रवर्द्धक कम्पनी हिमालयन पावर पार्टनर लिमिटेडका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालको भनाइ छ । पछिल्लो समय प्रसारण लाइन अभावले नै आयोजना ढिलाइ भएको हो । सुरुङ खन्ने क्रममा कमलो चट्टान निस्किनु, निर्माणाधीन अवस्थामा संरचनामा बाढी पस्नु, निर्माण सकेर पनि सुरुङ तथा पेनस्टकबाट पानी चुहिनुलगायत कारणले पनि निर्माणमा ढिलाइ भएको इन्जिनियरहरूले बताएका छन् ।

दोर्दी गाउँपालिका ६ ढोडेनी र ८ बन्सारबीचको दोर्दीखोलामा बाँध निर्माण गरिएको छ । बेंसीसहर नगरपालिका ११ चितीको रामचोकबेंसी नजिकै मस्र्याङ्दी नदी किनारमा विद्युत् गृह निर्माणाधीन छ । आयोजनामा २ हजार ७ सय ७० मिटर सुरुङ निर्माण गरिएका छन् । २ हजार ६ सय मिटर पेनस्टक पाइप जडान गरिएका छन् । विद्युत् गृहमा ९र९ मेगावाटका ३ वटा फ्रान्सिस टर्बाइन जोडिएको छ । आयोजनाको ग्रस हेड २ सय १२ मिटर छ । आयोजनाबाट १४७ दशमलव ६९ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणलाई भने १४२ दशमलव ३१ गिगावाट प्रतिघण्टा विद्युत् बिक्री गर्ने प्रक्षेपण गरेको छ ।

०६९ असार १ मा पीपीए गरेको आयोजनाले २ वर्षपछि निर्माण थालेको थियो । ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँमा निर्माण पूरा गर्ने भनिएको उक्त आयोजनाको लागत बढेर ४ अर्ब ६४ करोड पुग्ने आयोजनाको आकलन छ ।

आयोजनामा गैरआवासीय नेपालीद्वारा स्थापित एनआरएन इन्भेस्टमेन्ट लिमिटेडको ३५ दशमलव ७ प्रतिशत, आईएमई ग्रुपको ३४ दशमलव ३० प्रतिशत र स्थानीय साथै सर्वसाधारणको गरी ३० प्रतिशत लगानी छ । ३० प्रतिशतमा १० प्रतिशत स्थानीय र २० प्रतिशत सर्वसाधारणको सेयर छ । उक्त आयोजनामा प्राइम कमर्सियल बैंकको अगुवाइमा ८ वटा बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको ३५ प्रतिशत इक्विटी (स्वपुँजी) रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij