ई–आर्थिक, काठमाडौं । विशेष अदालतले कृषि विकास बैंकको चार करोडभन्दा बढी रकम गैरकानुनी ढंगले दुरुपयोग गरेको मुद्दामा दुईजनालाई दोषी ठहर गरेको छ । विशेषका सदस्यत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले मुद्दा दर्ता भएको झण्डै तीन वर्षपछि यस्तो फैसला गरेको हो ।
विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार बैंकको न्यूरोड शाखाकी तत्कालिन टेलर सहायक दीपिका रेग्मी र अवकाशप्राप्त सहायक रथी रमेशराज विष्टलाई दोषी ठहर गरिएको छ ।
रेग्मीले अपचलन गरेको ठहर भएको छ भने विष्टलाई मतियारका रूपमा उक्त अनियमिततामा सहयोग गरेको अभियोग पुष्टि भएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १२ मा तीन वर्षभन्दा बढी कैद वा ३० हजार रुपैयाँभन्दा बढी जरिवाना हुन सक्ने कसुरका सम्बन्धमा सजाय निर्धारण गर्नुअघि अदालतले आवश्यक ठानेमा सजायपूर्वको प्रतिवेदन तयार गर्न आदेश दिन सक्ने उल्लेख छ ।