२०८३ साउन ११ सोमबार

एमसीए परियोजना एक वर्ष पछि कार्यान्वयनमा ल्याइने, १० अर्ब मध्ये चार अर्ब ७७ करोड खर्च भइसक्यो

ई आर्थिक    शुक्रबार, भाद्र ३ २०७९
7.1K
Shares
एमसीए परियोजना एक वर्ष पछि कार्यान्वयनमा ल्याइने, १० अर्ब मध्ये चार अर्ब ७७ करोड खर्च भइसक्यो

ई–आर्थिक, काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले कार्यान्वयन गर्ने अमेरिकी अनुदान सहायताका दुई परियोजना एक वर्षपछि कार्यान्वयनमा ल्याइने भएको छ ।

आयोजना कार्यान्वयनका लागि एमसीसी सम्झौताको संसदीय अनुमोदन समयमा हुन नसक्दा कार्यक्रम कार्यान्वयन सुरु गर्ने अवधि पूर्वनिर्धारितभन्दा तीन वर्षपछाडि सारिएको छ ।

आगामी सेप्टेम्बरदेखि प्रसारण लाइन र सडक स्तरोन्नति सुरु हुने एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए । उहाँका अनुसार हाल पूर्वतयारीका काम तीव्र गतिमा भइरहेको र एक वर्षभित्र जग्गा अधिग्रहण, प्रसारण लाइन रेखाङ्कन पुनः अध्ययन, रुख कटान तथा ठेक्का प्रक्रियाका काम सम्पन्न भइसक्ने छन् । उहाँले भन्नुभयो, ‘अहिले हामी पूर्वतयारीकै चरणमा छौँ । पुनर्बास कार्ययोजना, प्रसारण लाइन रेखाङ्कनका क्रममा आएका गुनासा सम्बोधन जग्गा अधिग्रहण, निर्माण तथा परामर्श ठेक्काको तयारी र रुख कटानको अनुमति लिने काम गरिरहेका छौँ ।’ यसअनुसार आयोजना अब सन् २०२८ को सेप्टेम्बरसम्म निर्माण सम्पन्न भइसक्नुपर्नेछ ।

एमसीए नेपालले यसअघि सन् २०२०को जुनदेखि कार्यान्वयनको चरणमा लैजाने तयारी थियो तर सम्झौता अनुमोदन नै नभएपछि एमसीसी सहायता नै संशयमा परेको थियो । गत फागुनमा सम्झौता अनुमोदन भएपछि एमसीए नेपालले आफ्ना गतिविधिलाई तीव्रता दिएको हो ।

पूर्वतयारी कार्यका लागि करिब १० अर्ब रुपियाँ खर्च गर्ने निर्धारित पुँजीमध्ये हालसम्म चार अर्ब ७७ करोड रुपियाँ खर्च भइसकेको छ ।

काठमाडौँको लप्सीफेदीदेखि नुवाकोटको रातामाटे, हेटौँडा रातमाटेदेखि दमौली र दमौलीदेखि बुटवलसम्म चार सय केभी डबल सर्किट जम्मा ३१५ किलोमिटर प्रसारण लाइन र पाँचवटा सबस्टेसन बन्नेछन् । त्यस्तै सडक मर्मत आयोजनाअन्तर्गत दाङको धानखोलादेखि पश्चिम शिवखोलासम्म ७७ किलोमिटर पूर्व–पश्चिम राजमार्ग ७७ किलोमिटर स्तरोन्नति गरिँदै छ ।

यी दुई परियोजना कार्यान्वयनका लागि अमेरिकी सरकारको मिलेनियम च्यालेन्स कर्पोरेसनलाई ५० करोड डलर अनुदान उपलब्ध गराउने र नेपाल सरकारले पनि १३ करोड डलर थप लगानी गर्ने गरी सन् २०१७ मा यससम्बन्धी सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij