२०८३ साउन ११ सोमबार

साञ्जेन जलविद्युत् आयोजनाको साइट कार्यालयमा तोडफोड, कर्मचारी पनि कुटिए

ई आर्थिक    आइतबार, साउन २९ २०७९
2.8K
Shares
साञ्जेन जलविद्युत् आयोजनाको साइट कार्यालयमा तोडफोड, कर्मचारी पनि कुटिए

ई–आर्थिक, काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीका साइट कार्यालयमा स्थानीयले तोडफोड गरेका छन् । आयोजना प्रभावितका लागि छुट्याएको प्राथमिक सेयर (आईपीओ) प्रति असहमति जनाउँदै स्थानीयले तोडफोड गरेका हुन ।

रसुवाको आमाछोदिङमो गाउँपालिका गोल्जुङका स्थानीयले आइतबार दिउँसो साइट कार्यालय तथा सवारी साधन तोडफोड गरेको र कर्मचारीलाई पनि कुटपिट गरेको आयोजनाका एक कर्मचारीले बताए ।

‘वडा नम्बर ३ का ४०/५० जना स्थानीय आएर कार्यालय तोडफोड गरे । कर्मचारीलाई कुटपिट गर्दै लखेटे । एक जना गम्भीर घाइते छन् । अरु कर्मचारी लुकेर बसेका छन्’ ती कर्मचारीले भने, ‘८ वटा गाडी र १२र१५ वटा मोटरसाइकलमा तोडफोड भएको छ ।’ कुटपिटबाट आयोजनामा कार्यरत कर्मचारी सुरेश तामाङ गम्भीर घाइते छन् ।

साञ्जेन जलविद्युत् आयोजनाले आयोजना प्रभावित बासिन्दाका लागि १० प्रतिशत बराबर ३६ लाख ५० हजार कित्ता सेयर जारी गरेको थियो । आयोजनाबाट आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ अति प्रभावित, वडा नम्बर ४ लाई प्रभावित र अरु वडालाई सामान्य प्रभावितका रुपमा राखिएको छ । त्यस्तै रसुवा जिल्लाबासीलाई न्यून प्रभावितका रुपमा राखेर सेयर वितरण गरिएको थियो । कुल १० प्रतिशत सेयरमध्ये अति प्रभावितलाई ४, प्रभावितलाई ३ र सामान्य प्रभावित तथा न्यून प्रभावितलाई समान १।५ प्रतिशत सेयर दिने सहमति भएको थियो ।

‘जिल्ला समन्वय समितिमा सबै पक्षको भेला गराएर २०७६ माघ २९ गते यस्तो सेयर संरचना बनाउने भनेर सहमति भएको थियो,’ आयोजनाका ती कर्मचारीले भने, ‘तर अहिले आएर एकाएक कार्यालयमा तोडफोड गरे ।’ अहिले आयोजनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij