ई–आर्थिक, काठमाडौं । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्कासन गर्न लागेको हो । सोमध्ये ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि , १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको छ भने बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि सर्वसाधारणले बाँकी आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा भदौ ५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त मितिसम्म माग बमोजिम आवेदन नपरेमा भदौ १४ गतेसम्म थप हुनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।