२०८३ साउन १२ मंगलबार

बिनासूचना गुपचुप श्रमिक पठाउने मेनपावर कारबाहीमा

ई आर्थिक    आइतबार, साउन १५ २०७९
13.5K
Shares
बिनासूचना गुपचुप श्रमिक पठाउने मेनपावर कारबाहीमा

काठमाडौं । मेनपावर कम्पनीले कानुनअनुसार सूचना प्रकाशित नगरी श्रमिक भर्ना गर्ने र पूर्वस्वीकृति नलिई विदेश पठाएर ठगी गरेको पाइएको छ । विदेशी रोजगारदाताको मागअनुसार मेनपावर कम्पनीले प्रतिस्पर्धाका आधारमा सीपयुक्त युवा छनोट गर्न राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्नुपर्नेमा त्यसो नगरी चर्को सेवा शुल्क लिएर युवा छनोट गरेका हुन् ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनको दफा ४९ अनुसार श्रमिक भर्ना गर्ने प्रक्रियामा विज्ञापन प्रकाशन नगरे कानुनअनुसार त्यस्तो मेनपावरलाई ५० हजार जरिवाना गरी विज्ञापन रद्द गर्नुपर्ने प्रावधान रहेको जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले भर्नासम्बन्धी सूचना राष्ट्रिय दैनिकमा प्रकाशन नगरी श्रमिकको प्रक्रिया अघि बढाएका १४४ वटा मेनवार र पूर्व श्रमस्वीकृति नलिई भर्ना प्रक्रिया अघि बढाउने ४ वटा मेनपावर कम्पनीलाई प्रतिकम्पनी ५० हजार जरिबाना गरेको बताए । विभागले यसरी पूर्वस्वीकृति बिना श्रमिक भर्ना गर्ने र पूर्व श्रमस्वीकृति लिए पनि सूचना प्रकाशित नगर्ने मेनपावरबाट ७४ लाख रुपैयाँ जरिवाना भराएको छ ।

ऐनअनुसार मेनपावरले रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउनुपूर्व रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने मुलुक, वैदेशिक रोजगारको किसिम, कामदारको किसिम र संख्या, कामदारले पाउने तलब सुविधा सहितको जानकारीसहित सूचना प्रकाशित गर्नुपर्छ । यसैगरी सूचनामा बिदा, कामदारले काम गर्नुपर्ने दिन र समय, वैदेशिक रोजगारमा जाने मुलुकको आधिकारिक निकाय वा कूटनीतिक नियोग वा श्रम सहचारी वा चेम्बर अफ कमर्स वा नोटरी पब्लिकबाट प्रमाणित गरिएको मागपत्र र अख्तियारनामाको सक्कल प्रति, रोजगारदाता संस्था र कामदारबीच हुने करारको प्रतिलिपि, इजाजतपत्रवाला र कामदारबीच हुने करारको प्रतिलिपि हुनु पर्नेछ ।

ऐनअनुसार विभागबाट स्वीकृति प्राप्त भएपछि इजाजतपत्रवालाले तोकिए बमोजिमको विवरण खुल्ने गरी कामदार छनोट गर्न नेपाली भाषामा प्रकाशन हुने कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नुपर्नेमा सो नगरेको विभागको भनाइ छ । यसरी प्रकाशित भएको सूचना सम्बन्धित इजाजतपत्रवालाले आफ्नो कार्यालयको सूचना पाटीमा टाँस गरी सो सूचनाको एक प्रति सोही दिन विभाग समक्ष समेत पेश गर्नुपर्ने उल्लेख छ ।

आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आवमा मेनपावरमार्पmत वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विकृतिका घटनासमेत बढेको पाइएको छ । अघिल्लो वर्ष ३७ हजार ४७२ श्रमिक मेनपावर मार्पmत वैदेशिक रोजगारीमा गएकोमा गत वर्ष वृद्धि भएर ३ लाख ८ हजार २३१ पुगेको छ । विगत २ वर्ष कोभिडका कारण सयौं मेनपावरले एक जना पनि श्रमिक विदेश पठाउन सकेका थिएनन् ।

वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयले कोभिड संक्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला मेनपावर कम्पनीले गत वर्ष ठूलो संख्यामा श्रमिक विदेश पठाएको जानकारी दिए । अघिल्लो वर्ष साउन र भदौमा कुनै पनि मेनपावरले युवा विदेश पठाउन पाएका थिएनन् । अघिल्लो आर्थिक वर्ष खाडी तथा मलेसियाको विकल्पमा नयाँ श्रम गन्तव्यको खोजी गर्न नसक्दा २५१ मेनपावरको कारोबार नै शून्य भएको भएको थियो । गत आवमामा ८७२ मेनपावरमध्ये ६१ मेनपावरले एक जना पनि श्रमिक विदेश पठाउन नसकेको वैदेशिक रोजगार विभागले जनाएको समाचार गोपाल संग्रौलाले आजको कारोबारमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij