ई–आर्थिक, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आज (साउन ६ गते शुक्रवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारीपूँजी रू. ८५ करोडको १० प्रतिशत अर्थात रू. ८ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको छ ।
आईपीओमा आवेदन दिने समय साउन २० गतेसम्म रहेको छ । उक्त समयभित्र मागबमोजिम आवेदन नपरेमा भदौ ५ गतेसम्म थप गरिने छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक आवेदकले आईपीओमा विक्री प्रबन्धकसगै माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ ।
आर्थिक वर्ष २०७७/०७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११६ दशमलव ८६ रहेको छ । त्यस्तै उक्त अवधिसम्म प्रतिशेयर आम्दानी रू. १६ दशमलव ८२ रहेको छ भने संचित नाफा १० करोड ९५ लाख रहेको छ ।