२०८३ साउन ९ शनिबार

३८औं वार्षिकोत्सवको पुर्वसन्ध्यामा नबिलले गर्यो एकिकृत कारोबारको सुरुवात

ई आर्थिक    मंगलबार, असार २८ २०७९
5.1K
Shares
३८औं वार्षिकोत्सवको पुर्वसन्ध्यामा नबिलले गर्यो एकिकृत कारोबारको सुरुवात

ई–आर्थिक, काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार शुरु भएको छ ।

नबिल बैंकको ३८औं वार्षिकोत्सवको पुर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरी एकिकृत कारोबार थालनी भएको घोषणा गरिएको हो ।

दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो । कार्यक्रममा बोल्दै मुख्य सचिव बैरागीले पुरानो मध्यको एक नेपाल बंगलादेश बैंकको प्राप्ति पछि नबिल बैंक अझ ठुलो भएको र यस कदमले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास जनाए ।

अझ बलियो, सँगै अघि भन्ने नारा सहित गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले प्राप्ति पछि नबिलले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्वमा टेवा पुर्याउने बताए । ‘बैंक ठूलो भए सँगै बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिएका छौ,’ उनले थपे ।

देश विकासमा बैंकिंग संस्थाहरुको अग्रणी भूमिका हुने बताउदै उनले भने, ‘यस बैंकले वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्याउने लक्ष्य सहित नबिल दिगो बैंकींगको सुरुवात गरेको छ र अझ सशक्त रुपमा अघि बढ्नेछ ।’ पर्यावरण र दिगो विकासको मापदण्डलाइ पछ्याउदै बैंकले त्यहि अनुसार नीति तथा रणनीति लिने उनले जानकारी दिए ।

‘क’ वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था भएको छ ।

‘नविल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन) को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दै बैंक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिबृद्धि गर्न कदम चालेका हौं,’ बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले बताए । उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै बिस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए ।

‘हामीले हाम्रा निक्षेपकर्ता, लगानीकर्ता लगायतका सरोकारवालाहरुको हित संरक्षण गर्ने, देशव्यापी शाखाहरुको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्ने, पूँजीगत आधार सुदृढ गरीे सम्भावित वित्तीय जोखिम तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न अग्रणी भुमिका खेल्ने नीती लिनेछौं । साथसाथै सबै सुचकांकहरुमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ आज बाट एकिकृत कारोबार शुरु गरेका छौं,” उनले थपे ।

बैंकका अनुसार प्राप्ति पछि बैंकको चुक्ता पुंजी २२ अर्ब ८३ करोड, कुल पुंजी ५६ अर्ब २ करोड, कुल निक्षेप ३ खर्ब २८ अर्ब तथा कुल कर्जा ३ खर्ब ८ अर्ब पुगेको छ । त्यस्तै गरि देशभरिको शाखा विस्तार भई २६७ शाखा सञ्जालहरु र २७४ एटिएम मेसिनहरुबाट सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij