काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ । सुरुङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको छ ।
विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमार्गमा निर्माण कम्पनीले तोकेको डिजाइ गरेर दिन्छ । हामीले हेरेर स्वीकृत गर्छौं अनि निर्माणको काम सुरु हुन्छ । हाम्रो अनुमानअनुसार सुरुङमार्गको निर्माण दसैंको आसपासमा सुरु हुनेछ ।”
सुरुङ दुई लेनको र १२ सय मिटरको हुनेछ । ३ वटा आकस्मिक सुरुङमार्ग निर्माण हुनेछ । १ मुख्य र ३ वटा बाइपास सुरुङमार्ग निर्माण हुने सडक विभागले जनाएको छ । त्यसबाहेक माथि भएका बहन ढुंगाहरु हटाइने र त्यहाँ फलामे जाली प्रयोग गरेर रक सेड बनाउने महानिर्देशक थापाको भनाइ छ ।
माथिबाट पहिरो आए पनि छाता आकारको पूर्वाधार निर्माण गरिने र पहिरो माथिबाट झरेर सिधा खोलामा जाने गरी रक सेड निर्माण हुने विभागले जनाएको छ । “दसैंको आसपासबाट पूर्ण रुपमा निर्माण कार्य सुरु हुन्छ,” महानिर्देशक थापाले भने ।
निर्माण हुने सुरुङमार्गबाट इन्धनको ढुवानी गर्न ट्रक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई निषेध गरिने छ । ०७८ फागुन अन्तिम साता चिनियाँ कम्पनीसँग आगामी ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । हाल सो सुरुङमार्ग निर्माण गर्न कम्पनीले डिजाइनको काम गरिरहेको छ । सम्झौता अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइन गरेर बुझाउने समय दिइएको छ ।
कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्म मर्मत तथा सञ्चालन गर्नु पर्नेछ । यसरी १० वर्ष उक्त परियोजना कम्पनीको प्रत्यक्ष निगरानीमा रहने छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी निर्माणको लागि छनोट भएको थियो । सिद्धार्थ राजमार्गमा निर्माण हुने १.१ किलोमिटरको उक्त सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीको प्रस्ताव पेश भएकोमा ४ कम्पनी छनोटमा परेकोमा चाइना स्टेट कन्स्ट्रक्सनले कम कबोलमा निर्माणको जिम्मा पाएको समाचार आजको कारोबारले लेखेका छ ।