२०८३ असोज १ बिहिबार

सातै प्रदेश सरकारले ल्यायो बजेट, कुन प्रदेशको बजेट आकार कत्रो ?

ई आर्थिक    बिहिबार, असार २ २०७९
10.5K
Shares
सातै प्रदेश सरकारले ल्यायो बजेट, कुन प्रदेशको बजेट आकार कत्रो ?

ई–आर्थिक, काठमाडौं । सातै वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को लागि बजेट प्रस्तुत गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्था अनुरुप प्रदेश सरकारहरुले प्रत्येक वर्षको असार १ गते बजेट ल्याउनु पर्छ । सोही अनुरुप प्रदेश सरकारले आगामी आबको बजेट प्रस्तुत गरेका हुन ।

सोही व्यवस्था अनुरुप असार १ गते सातै प्रदेशका अर्थमन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । बजेट प्रस्तुत गर्नुपुर्व सातवटै प्रदेश सरकारहरुले नीति तथा कार्यक्रम पास गरिसकेका थिए । सातै प्रदेशको बजेटको आकार फेरिएपनि खासै नयाँ कार्यक्रम छैनन् । अधिकांश प्रदेश सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक ममिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार र पूँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्व ७४ करोड ६४ लाख ६५ हजार बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले सो बजेट विनियोजन गरेका हुन् । जसमा चालुतर्फ १२ अर्व २९ करोड ५९ लाख ८४ हजार अर्थात ३३ दशमलव ४६ प्रतिशत र पुजिगत तर्फ २४ अर्व १४ करोड ४७ लाख ६१ हजार अर्थात ६५ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बुधबार बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात् १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात् ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात् ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङ्बोले आर्थिक वर्ष २०७८/७९ को लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट ल्याएका छन् । प्रस्तुत राजस्व र व्ययको अनुमानमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्तातर्फ दुई अर्ब रहेको छ ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेशसभामा प्रस्तुत गरेका हुन् । मन्त्री विष्टले कूल बजेटमा प्रदेशले खर्च गर्ने चालुतर्फ नौ अर्ब १६ करोड ९९ लाख १० हजार र पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार बजेट विनियोजन गरिएको बताए । त्यस्तै, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब एक करोड ५७ लाख २९ हजार विनियोजन गरिएको छ ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जिवन’ ले आगामी आर्थिक वर्ष २०७९/८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन । प्रदेश सभामा उनले उक्त विनियोजन रकममध्ये चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात ३६ दशमलव ९५ प्रतिशत, पुँजीगतर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार अर्थात ६१.६६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात १.३९ प्रतिशत रकम विनियोजन गरिएको बताए ।

आगामी आर्थिक वर्षको लागि मधेस प्रदेशको कुल बजेट ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रहेको छ । बुधबार अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सभामा उक्त रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् । कुल बजेटको चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ८३ करोड २० लाख ८० हजार बिनियोजन गरिएको मन्त्री शाहले बताएका छन् । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ बिनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij