२०८३ साउन १२ मंगलबार

उम्मेदवार बन्न फर्म नामसारी गर्दै ठेकेदार, विवादास्पद ठेकेदारकै चर्चा

ई आर्थिक    मंगलबार, चैत्र २९ २०७८
5.2K
Shares
उम्मेदवार बन्न फर्म नामसारी गर्दै ठेकेदार, विवादास्पद ठेकेदारकै चर्चा

काठमाडौं । स्थानीय तह निर्वाचनमा आयोगले ठेकेदारले उम्मेदवार बन्न नपाउने नियम ल्याएपछि ठेक्कापट्टामा संलग्न व्यक्तिले धमाधम कम्पनी नामसारी गर्न थालेका छन्। बाजुरा, प्यूठान, जाजरकोट र जनकपुरधाममा यो क्रम उच्च छ। बाजुराका १२ जना ठेकेदारले आफ्नो नाममा रहेको निर्माण कम्पनी (फर्म) आफन्तको नाममा सारेका छन्। तीमध्ये सबैभन्दा बढी बुढीनन्दा नगरपालिकाका छन्। बुढीनन्दामा ६ जनाले आफ्नो नामको फर्म आफन्तकोमा सारेको पाइएको छ। घरेलु कार्यालय र कम्पनी रजिष्टारको कार्यालयमा अहिले नामसारी गर्नेहरूको लाइन नै लाग्छ।

दिव्यश्वरी निर्माण सेवा (बुढीनन्दा नगरपालिका २) का प्रोप्राइटर अंगलाल जैसीले भाइ प्रकाशराज रेग्मीको नाममा नामसारी गरेका छन्। अंगलाल बुढीनन्दा नगरपालिका-२ मा नेपाली कांग्रेसबाट वडाध्यक्षका आकांक्षी हुन्। दीपसन कन्स्ट्रक्सन एन्ड सप्लार्यस (बुढीनन्दा- १) का दयाराम पाण्डेले श्रीमती सुशीला आचार्यको नाममा फर्म नामसारी गरेका छन्। दयाराम पाण्डे बुढीनन्दा नगरपालिका-१ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका आकांक्षी हुन्।

यस्तै बुढीनन्दा नगरपालिका- १ का वर्तमान वडाध्यक्ष नृपराज खत्रीको नाममा रहेको लोकमणि कन्स्ट्रक्सन एन्ड अर्डर सप्लायर्स श्रीमती नेत्रु खत्रीको नाममा सारिएको छ। खत्री पनि नेपाली कांग्रेसबाट वडाध्यक्षका आकांक्षी हुन्। दिनेश निर्माण तथा अर्डर सप्लायर्स कन्स्ट्रक्सन –बुढीनन्दा नगरपालिका १) का सुन्दर विष्टले भाइ उत्तम विष्टका नाममा फर्म सारेका छन्। सुन्दर विष्ट नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका आकांक्षी हुन्। विष्ट २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए।

हिमाली गाउँपालिका-४ का छत्रबहादुर मल्लले पनि आफ्नो नाममा रहेको छत्र कन्स्ट्रक्सन एन्ड अर्डर सप्लायर्स श्रीमती रंगसरा मल्लको नाममा गरेका छन्। छत्रबहादुर २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस समर्थक थिए। यसपालि उनी हिमाली गाउँपालिका—४ बाट नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा लड्ने भएका छन्।
मीतज्यू कन्स्ट्रक्सन एन्ड सप्लार्यसका प्रोप्राइटरसमेत रहेका गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले भाइ अर्जुन रोकायाको नाममा फर्म नामसारी गरेका छन्। रोकाया पुन गौमुल गाउँपालिकाको अध्यक्षमा दोहोरिने आकांक्षा राखेका छन्।

जगन्नाथ गाउँपालिका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष कालीबहादुर शाहीको नाममा रहेको पूर्णा निर्माण सेवा छोरा जीवन शाहीको नाममा नामसारी गरिएको छ। शाहीले पुनः जगन्नाथ गाउँपालिकाको अध्यक्षमा दोहोरिने तयारी गरेका छन्। हिमाली गाउँपालिका— ७ का मायाप्रसाद तिमिल्सेनाको नाममा रहेको एमपी तिमिल्सेना समाज निर्माण सेवा नामको फर्म काका गुरुप्रसाद पाध्यायको नाममा सारिएको छ। माया तिमिल्सेना नेकपा एमालेबाट वडा नम्बर ७ मा वडाध्यक्षका आकांक्षी हुन्। तिमिल्सेना २०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए।

त्यसैगरी बूढीगंगा नगरपालिका-७ का नेपाली कांग्रेसका बाजुराका सचिव तिलकराज पुरीको नाममा रहेको ओम शान्ति निर्माण सेवा, भतिजा निर्मल शाहको नाममा नामसारी गरिएको छ। सचिव पुरी नेपाली कांग्रेसको तर्फबाट बूढीगंगा नगरपालिकाको मेयरका आकांक्षी हुन्। बुढीनन्दा नगरपालिका-६ का अंगकुमार रावतको नाममा रहेको भैरव कन्स्ट्रक्सन एन्ड निर्माण सेवा श्रीमती निर्मला बुढाको नाममा नामसारी गरिएको छ। अंगकुमार रावत नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर ६ का वडाध्यक्षका आकांक्षी हुन्।

बुढीनन्दा नगरपालिका-५ का वडाध्यक्षसमेत रहेका कृष्णराज पाध्यायको नाममा रहेको बीबी कन्स्ट्रक्सन एन्ड अर्डर सप्लार्यस बडिमालिका नगरपालिका ९ की कृष्णाकुमारी तिमिल्सेनाको नाममा नामसारी गरिएको छ। त्रिवेणी नगरपालिका- ८ का उद्धवबहादुर थापाको नाममा रहेको मौरे कन्स्ट्रक्सन श्रीमती मना थापाको नाममा नामसारी गरिएको छ। उद्धबबहादुर थापा नेपाली कांग्रेसबाट वडाध्यक्षका आकांक्षी हुन्।

निर्माण व्यवसायी बढी आकांक्षी

लुम्बिनी प्रदेशमा पनि निर्माण व्यवसायीको उम्मेदवारमा आकांक्षा बढी छन्। पैसा र पहुँच दुवै भएका उनीहरूले पार्टीबाट टिकट पाउने सम्भावनासमेत बढेको छ। ३२ वर्षदेखि निर्माणको क्षेत्रमा समय खर्चेका प्यूठानस्थित लेकाली निर्माण सेवाका सञ्चालक ५६ वर्षीय सुनील शाही (लेकाली) मल्लरानी गाउँपालिकाको अध्यक्ष पदका आकांक्षी हुन्।

उनी निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका सदस्य हुन् भने नेकपा एमाले मल्लरानी गाउँपालिका अध्यक्ष हुन्। हरियाली निर्माण सेवाका सञ्चालक शोभाराम न्यौपाने गौमुखी गाउँपालिकाको अध्यक्ष पदका आकांक्षी देखिएका छन्। ४७ वर्षीय उनी निर्माण व्यवसायी संघ प्यूठानको वर्तमान उपाध्यक्ष हुन्। उनी नेपाली कांग्रेस निकट मानिन्छन्। अन्य धेरै ठेकेदार उम्मेदवारका आकांक्षी छन् ।
प्रत्येक तहमा ठेकेदार उम्मेदवार निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रत्नबहादुर खड्का ख श्रेणीका ठेकेदार हुन्। उनले दर्जनौं ठेक्कापट्टामा अहिले पनि काम गरिरहेका छन्।

उनी नेपाली कांग्रेस जाजरकोटका उपसभापति पनि हुन्। उनले जाजरकोटको छेडागाड नगरपालिकाको मेयर लड्ने आकांक्षा देखाएका छन्। नेपाली कांग्रेस छेडागाड नगर समितिले आठ जना आकांक्षीलाई पन्छाउँदै उनको एकल नाम मेयरका लागि सिफारिस गरेको छ। गठबन्धनबाट कांग्रेसले भाग लिए पनि उनले चुनाव लड्ने पक्का हो।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका नेकपा समाजवादी जाजरकोट अध्यक्ष कमान खड्का पनि भेरी नगरपालिकाको मेयरका आकांक्षी हुन्। उनी नगरप्रमुखमा चुनाव लड्ने तयारीमा छन्। यद्यपि गठबन्धनले टिकट दिन्छ कि दिँदैन भने अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन।

निर्माण व्यवसायी संघका पुर्वअध्यक्ष तेजविक्रम शाह नेपाली कांग्रेसको तर्फबाट भेरी नगरपालिकाको मेयरका आकांक्षी हुन्। उनी नेपाली कांग्रेसको जिल्ला पार्टी सचिव पनि हुन्। उनी पनि टिकट पाए उम्मेदवार बन्ने लविङमा लागिपरेका छन्।निर्माण व्यवसायीहरू पार्टीमा पनि हाबी हुँदै गएका र स्थानीय तहमा पनि टिकटको प्रबल दाबेदार देखिएका छन्। उम्मेदवारमा उठेका सबैले फर्म आफन्तको नाममा सारेका छन्।

विवादास्पद ठेकेदारकै चर्चा

सरकारको कर छली गरेको अभियोग लागेका निर्माण व्यवसायीले नै जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। जनकपुरधाम मुझेलियास्थित रमण कन्स्ट्रक्सनका सञ्चालक बलराम महतोले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

रमण कन्स्ट्रक्सन र महतोमाथि राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली भ्याट बिल प्रकरणमा मुद्दा चलाएको छ। एक वर्षअघि विभागले उक्त प्रालि तथा त्यसका सञ्चालकलाई २० करोड ८७ लाख रुपैयाँ बिगो र कैद मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको समाचार आजको अन्नपूर्ण पोष्टमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij