ई–आर्थिक, काठमाडौं । वाणिज्य बैंकहरुले निजी गाडी, मोबाइल, रक्सी, चुरोट, सजावटका सामग्री लगायत विलासिताका वस्तु आयातका लागि हाललाई प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेका छन् । केन्द्रीय बैंकले अनौपचारिक निर्देशन दिएको एक सातापछि बैंकहरुले यस्तो निर्णय गरेका हुन् ।
नेपाल बैंकर्स संघले आइतबार निर्णय गर्दै निजी गाडी, मोबाइल, रक्सी, चुरोट, सजावटका सामग्री, ड्राइ फुड, फर्निचर, पफ्र्युमलगायत सामग्री आयातका लागि अर्को सातासम्मका लागि एलसी नखोल्ने जनाएका हुन् ।
राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले गत साता नै गाडी लगायत कम आवश्यक र विलासिता वस्तुका लागि एलसी नखोल्न शाखाहरुलाई निर्देशन दिइसकेका छन् । तर उक्त विषयमा बैंकर्स संघले औपचारिक निर्णय गरेको थिएन ।
आइतबार संघले औपचारिक रुपमै एक सातसम्मका लागि एलसी नखोल्ने निर्णय गरेको छ । यसअघि राष्ट्र बैंकले दुई पटक गरी करिब १३ सय वस्तु आयातका लागि एलसी खोल्दा खरिदकर्ताले ५० देखि शतप्रतिसतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिसकेको छ । उक्त व्यवस्थाले फागुनमा आयात केही घटे पनि चैतमा बढेको संकेत देखिएपछि गत साता राष्ट्र बैंकले वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतलाई डाकेर गाडीलगायत अनावश्यक वस्तु आयातका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो ।