२०८३ साउन ९ शनिबार

एक महिनामै पाँच डिजाइनसहित ५०२ औद्योगिक सम्पत्ति दाबी

ई आर्थिक    बिहिबार, चैत्र १० २०७८
2.7K
Shares
एक महिनामै पाँच डिजाइनसहित ५०२ औद्योगिक सम्पत्ति दाबी

काठमाडौं । कोभिडपछि मुलुकमा व्यावसायिक वातावरणको पुनः विकास भएसँगै औद्योगिक सम्पत्ति दर्ताको क्रम पनि बढ्न थालेको छ । उद्योग विभागका अनुसार गएको फागुनमा मात्रै ५०२ ट्रेडमार्क दर्ताको प्रक्रिया अघि बढेको छ भने सोही अवधिमा पाँच नयाँ डिजाइन दर्ताका लागि प्रस्ताव पेश भएको छ ।

विगतमा विदेशी कम्पनीका स्थानीय एजेन्सीले डिजाइन दर्ताका लागि पेश गर्ने गरे पनि यसपटक भने सूर्य नेपाल लगायतका कम्पनीले नेपालमै विकास गरेको औद्योगिक उत्पादनको डिजाइन दर्ताका लागि पेश भएको विभागका सूचना अधिकारी तथा निर्देशक भक्तराज जोशीले जानकारी दिए ।

विदेशबाट आयातित वस्तुको बजार सुनिश्चित गर्न औद्योगिक सम्पत्ति दर्ता गर्ने क्रम यसअघि नै रहे पनि पछिल्लो समय स्वदेशी उत्पादकले समेत यसमा चासो देखाउन थालेको विभागले जनाएको छ । विभागका अनुसार फागुन अन्तिम साता र चैतमा डिजाइन दर्ताका लागि पेश भएका फाइलमा सूर्य नेपालको चुरोटको बट्टाको नयाँ डिजाइनसहित भारतीय कम्पनी प्रमित सँगाभीका बोतलहरू रहेका छन् ।

विभागका अनुसार ट्रेडमार्क दर्तातर्फ भने लोकप्रिय रहेका सामाजिक सञ्जाल टिकटक सहित कोरियाली मोटर कम्पनी कियाको नयाँ लोगो, हङकङको एयरलाइन्स क्याथे प्यासेफिक, चिनियाँ लगानीमा नेपालमा उत्पादन हुँदै गरेको ह्वासिन सिमेन्ट लगायतका रहेका छन् । यस्तै, नेपाल उद्योग परिसंघको ‘स्वदेशीः हाम्रो सामान हाम्रै स्वाभिमान’सहित नेपाल टेलिकमको नमस्ते पे, सोनाम वेयर, हाँडी बिरयानी, खादी, शैल्यधुरा, सेन्चुरी प्लाइ, हेरिटेज प्लाइ, शांग्रिला सिमेन्ट लगायतका ब्रान्डहरूको पनि ट्रेडमार्क दर्ता प्रक्रिया अघि बढेको छ ।

पेटेन्ट दर्ता प्रक्रिया पूरा हुन निवेदन दिएको मितिले एक वर्ष ६ महिना लाग्ने जनाइएको छ । यस्तै, डिजाइन दर्ताका लागि विभागले ९ महिना समय तोकेको छ । जसमा निवेदनसाथ एक हजार र दर्ता गर्न थप सात हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । डिजाइन दर्ता शुल्क स्वदेशी र विदेशी दुवै आवेदकका लागि समान भए पनि विदेशीका हकमा थप कागजात आवश्यक पर्छ । ट्रेडमार्क दर्ता तुलनात्मक रुपमा सहज र सरल मानिए पनि यसका लागि समेत ९ महिना नै समय तोकिएको छ ।

विभागका अनुसार ट्रेडमार्क दर्ताका लागि निवेदनको साथ एक हजार र थप पाँच हजार दर्ता शुल्क बुझाउनुपर्ने कानुनी व्यवस्था छ । पेटेन्ट नवीकरणका लागि पहिलो वर्ष ५ हजार रुपैयाँ तथा त्यसपछि प्रत्येक वर्ष ७ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै, डिजाइन नवीकरण पहिलोपटक एक हजार र त्यसपछिका वर्षमा भने बर्सेनि २ हजार रुपैयाँ बुझाएर नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । ट्रेडमार्क नवीकरणका लागि ३ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । ट्रेडमार्क प्रत्येक सात वर्षमा नवीकरण गर्न सकिने व्यवस्था छ ।
सरकारले २०७३ सालदेखि राष्ट्रिय बौद्धिक सम्पत्तिसम्बन्धी नीति लागू गर्दै आएको छ । जसअनुसार नेपालको बौद्धिक अधिकारसम्बन्धी नीतिलाई अन्तर्राष्ट्रिय नीतिअनुकूल बनाउँदै लगिएको छ । यस नीतिमा प्रतिलिपी अधिकार नीति, पेटेन्ट नीति, औद्योगिक डिजाइन नीति, ट्रेडमार्क नीति, भौगोलिक संकेत नीति, वनस्पतिका प्रजाति संरक्षण नीति, व्यापारिक गोप्यतासम्बन्धी नीति लगायतका विषयगत नीति समेटिएका छन् ।
विभागले ट्रेडमार्क दर्ताको निमित्त दरखास्त परेमा सो ट्रेडमार्कका सम्बन्धमा आवश्यक जाँचबुझ गरी कसैको दावी विरोधका लागि सूचना जारी गर्छ । दाबी विरोध गर्न मनासिव मौका दिई कसैको दाबी विरोध पर्न आएमा सो उपर समेत छानबिन गरी दर्ता गर्न उपयुक्त ठहरिएमा दर्ता गर्ने व्यवस्था गरेको प्रवक्ता जोशीले बताएको समाचार सरस्वती ढकालले आजको कारोबारमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij