ई–आर्थिक, काठमाडौं । नेपालमा फेरि इन्धनको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले बुधबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपियाँ वृद्धि गरेको हो ।
यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५५, डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर १३८, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १५१ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ।
मूल्यवृद्धि गर्दा पनि आगामी १५ दिनमा करिब चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले जनाएको छ। सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ ।
आइओसीलाई भुक्तानी गर्न अपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ ।