काठमाडौं । पछिल्लो एक दशकमा थुप्रै कम्पनीका मोबाइल फोन बजारमा आए । ती मध्ये नोकिया, मोटोरोला, सोनी, जीओनी, डीटीसी, एप्पल, सामसङ, ओप्पो, हुवाई, एमआई, ब्ल्याकबेरी, एलजी, लाभा, माईक्रो म्याक्स, भिवो, लेनोभो लगायत मुख्य थिए । यिनै फोन मध्ये अहिले एकाध बाहेक धेरैजसो फोन गुमनाम जस्तै भएका छन् ।
कुनै समय एकछत्र राज गरेका मोबाइल फोनले समयाअनुकुल आफूलाई परिमार्जन गर्न नसक्दा बिस्तारै बजार मात्रै गुमाएनन्, फेजआउट नै भएका छन् ।
किप्याड मोबाइलमा एकछत्र राज गरेको यी मोबाइल ब्राण्डले विभिन्न फिचर सहितका आइओएस र एण्ड्रोइड अप्रेटिङ सिस्टम भएका मोबाइल बजारमा आएपछि आफ्नो बजार गुमाउन शुरु गरेका थिए ।
१ नोकिया
नोकियाले नेपाल मात्रै नभएर बिश्व बजारबाटै आफ्नो बजार हिस्सा गुमाएर १ प्रतिशत भन्दा तल झरिसकेको छ । किप्याड मोबाइल संगै बजारमा आएको सामसङ, सोनी लगायत अन्य फोन स्मार्ट फिचर सहित बजारमा आउन थालेपछि नोकियाले आफ्नो बजार गुमाउन थालेको थियो । कुनै समय एसियन बजारमा नोकिया फोनको साम्राज्यनै थियो भन्दा फरक नपर्ला । तर अहिले यो फोन ब्राण्ड बिश्वबजारको गन्तिमै पर्दैन ।
इन्टरनेटको सहज पुहँच बढ्दै जाँदा नयाँ नयाँ प्रविधि समेट्न नसक्दा लगभग बन्दै हुन लागेको नोकियाले आफूलाई परिमार्जीत गर्दै पुन बजारमा आउने कोसिस गरिरहेको छ ।
नेपालम यसको बजार हिस्सा १ प्रतिशत मात्रै छ । अन्तरराष्ट्रिय बजारमा भने गन्तीमै पर्दैन ।
२. मोटोरोला
त्यस्तै इलेक्ट्रोनिक सामान उत्पादन गर्दै आएको अर्को कम्पनी मोटोरोला पनि नोकियको जस्तै गरि बजार गुमाएको छ ।
यो कम्पनीको कुनै पनि फोन नेपाली बजारमा छैनन् । शुरुवाती समयमा निकै मजबुत फोनको पहिचान बनाएको यो फोन धेरै लामो समय बजारमा टिक्न सकेन । नेपालमा यसको बजार हिस्सा नगन्य मात्रामा छ भने विश्वबजारमा यसकोहिस्सा २.९ प्रतिशत रहेको छ ।
३. एलजी
इलेक्ट्रोनिक सामान उत्पादन र बिक्री गर्दै आएको एलजीले इनेक्ट्रोनिक समानमा ठूलो बजार हिस्सा ओगटे पनि मोबाइल फोनमा भने बजार बिस्तार गर्न सकेन । यो ब्राण्डका स्मार्टफोन अहिले नेपालि बजारमा नगन्य मात्रामा छन् । यसले विश्वबजारको १ प्रतिशत मात्रै बजार पाएको छ । नेपालमा यसको बजार गन्तीमा पर्दैन ।
४ सोनी
इलेक्ट्रोनिक सामानमा अत्याधिक रुचाइने जापनिज सोनी ब्राण्डका क्यामेरा, टेलिभिजन लगायत इलेक्ट्रोनिक सामानमा उत्पादन गर्दै आएको सोनीले मोबाइल फोन समेत उत्पादन गर्दै आएको थियो ।
राम्रै बजार पाउँदा पाउँदै पनि यो कम्पनीले समयअनुसार नयाँ प्रविधीलाई जोड्न सकेन । जसको कारण सम्भावना हुँदा हुँदै पनि बजार गुमायो । हाल यो कम्पनीका सिमीत मात्रमा मात्रै स्मार्ट फोन उपलब्ध रहेका छन् । हाल नेपालमा केहि मोडलमा उपलब्ध भएता पनि यसको बजार वर्षेनी घट्दो छ । अर्थात हाल बिश्व बजारमा सोनी फोन फेजआउट भइसकेको छ ।
५ डीटिसी
सस्तो मूल्यको स्मार्टफोन डीटिसी ब्राण्डको मोबाइल फोनले पनि आफ्नो बजार बिस्तार गर्न सकेन । अन्यको तुलनामा सस्तो मानिएको यो फोनले उपभोक्ताको मन जित्न सकेन । हाल यो ब्राण्डका स्मार्टफोन विक्री हुनै छाडेको छ । यो कम्पनीका स्टकमा रहेका मोबाइल बाहेक नयाँ फोन उपलब्ध छैनन् ।
६ माइक्रोम्याक्स
केहि समय राम्रै चर्चा पाएको अर्को मोबाइल ब्राण्ड हो माईक्रो म्याक्स । नेपाली बजारमा प्रवेश गरेसंगै राम्रो बजार हिस्सा लिने अपेक्षा गरिएको थियो । निम्न र मध्यम वर्गिय ग्राहकको लागि फिचर्स फोन हुने अपेक्षा गरिएको चिनियाँ कम्पनीको यो सस्तो मोबाइलले पनि आफ्नो बजार गुमायो ।
७ जीओनी
त्यस्तै अर्को चिनिया कम्पनीले उत्पादन गरेको जीओनी पनि नेपाली बजारमा टिक्न सकेन । समय अनुसारको सेवा र एक्सेसोरिजको सुविधा दिन नसक्दा यी कम्पनीका मोबाइलले बजार गुमाउँदै गएका हुन ।
८ बल्याकबेरी
त्यस्तै अर्को कम्पनी ब्ल्याकबेरीले नेपालमा राम्रो बजार नै पाउन सकेन। सेक्यूरिटिको हिसाबले निकै राम्रो मानिएको यो फोनमा प्रयोगकर्ता आकर्षित गर्ने कुनै पनि फिचर तथा योजना ल्याउन सकेन ।
९ लेनोभो
यो ब्राण्डको मोवाईलले पनि एक्सेसोरिजको सुविधा दिन नसक्नु तथा समयअनुकुल मोडिफाई हुन नसक्दा यसले पनि विश्वबजारबाटै बाहिरिनु पर्यो । हाल यस ब्राण्डका केहि ट्यावलेट बजारमा उपलब्ध भएतापनि मोबाईल भने खासै छैनन् ।
१० लाभा
सस्तो मुल्यमा फिचर्स फोन भन्दै बजारमा आएको यो फोनले पनि आफ्नो बजार बिस्तार त परै जावस भएको घरेलु बजारमा समेत दरिलो उपस्थिती देखाउन सकेन । हाल कहिं कतै देखिए पनि यसको बजारमा दरिलो उपस्थिती भने छैन ।
हाल एप्पल, सामसङ, हुवाई, साओमी, लाभा लगायत सीमित कम्पनीका मोबाइल मात्र बजारमा छन । विभिन्न प्रविधिको प्रयोग गर्दै सीमित कम्पनीले मात्र प्रतिस्पर्धा गरिरहेका छन् ।
सामसङ र एप्पल महङ्गा मोबाइल बजारमा ल्याउने प्रतिस्पर्धामा छन भने, ओप्पो, हुवाई,एमआई लगायतले सस्तो तथा मध्यम मूल्यका मोबाइल विक्रीमा प्रतिस्पर्धा गरिरहेको समाचार आजको आर्थिक अभियानले लेखेको छ ।