२०८३ साउन १० आइतबार

विदेशी लगानी ८० प्रतिशत बढ्यो

ई आर्थिक    बुधबार, चैत्र २ २०७८
1.7K
Shares
विदेशी लगानी ८० प्रतिशत बढ्यो

गत वर्षको आधार नै कम भएकाले त्योसँग तुलना गर्दा यस वर्ष प्रतिशतमा विदेशी लगानी उच्च दरले बढेको देखिएको हो

काठमाडौँ : मुलुकको बाह्य क्षेत्र चर्को दबाबमा रहेको भनिएको अवस्थामा पनि प्रत्यक्ष विदेशी लगानी (एफडीआई) उच्च दरले बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

बाह्य क्षेत्रको अवस्था देखाउने शोधनान्तर स्थिति गत माघसम्म करिब साढे २ खर्ब घाटामा रहेको, व्यापार घाटा करिब १० खर्ब १६ अर्ब रुपैयाँ पुगेको, विदेशी विनिमय सञ्चिति उच्च दरले घटिरहेको लगायत सूचकले अर्थतन्त्र संकटोन्मुख अवस्थामा रहेको देखाइरहेका छन् । यस्तो अवस्थामा पनि एफडीआई उच्च अंकले बढ्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

गत आर्थिक वर्षभर विदेशी लगानी उच्च दरले घटेको थियो । यसकारण गत वर्षको तुलनामा आधार नै कम भएकाले यो वर्ष विदेशी लगानी उच्च दरले बढेको देखिएको जानकारहरू बताउँछन् । नयाँ विदेशी लगानी आउन नसक्नु, पुराना प्रतिबद्धताअनुसार मात्र विदेशी लगानी आउनुलगायतले पनि उल्लिखित तथ्य पुष्टि हुने उनीहरूको तर्क छ ।

राष्ट्र बैंकका मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ७ महिना (गत माघ) सम्म करिब १६ अर्ब २८ करोड रुपैयाँ कुल विदेशी लगानी मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको ७ महिनासम्म विदेशी लगानी करिब साढे ८१ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको ७ महिनासम्म विदेशी लगानी साढे ३७ प्रतिशत घटेर ९ अर्ब २ करोड रुपैयाँमा सीमित भएको थियो ।

चालु आर्थिक वर्षको ७ महिनामा मुलुक भित्रिएको विदेशी लगानीलाई उत्साहका रूपमा हेर्न नहुने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको भनाइ छ । ‘प्रतिशतका रूपमा धेरै देखियो भनेर भएन, यथार्थमा रकममा कति रकम आयो भनेर हेर्नुपर्छ,’ उनले भने, ‘प्रतिबद्धताअनुसार केही जलविद्युत् आयोजनामा विदेशी लगानी आएको देखिए पनि त्यो अपेक्षाभन्दा धेरै कम हो ।’

कोभिडका कारण गत वर्ष विदेशी लगानीको अवस्था निकै दयनीय थियो । त्यस्तो अवस्थासँग तुलना गर्दा गत माघसम्म प्रतिशतमा विदेशी लगानी धेरैले बढेको देखिएको हो । ‘प्रतिशतलाई मात्र हेरेर विदेशी लगानी धेरैले बढ्यो भन्ने विश्लेषण सही हुँदैन,’ उनले भने, ‘रकममा कति आयो र अर्थतन्त्रमा त्यसको योगदान कस्तो रह्यो भनेर पनि हेर्नुपर्छ ।’

चालु आर्थिक वर्षमा नयाँ विदेशी लगानी नआएको र सञ्चालनमा रहेका सीमित जलविद्युत् आयोजनामा यसअघिको प्रतिबद्धताअनुसार केही लगानी आएकाले धेरैले बढेको देखिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ‘आयोजना निर्माणको काम अघि बढेकाले चालु आर्थिक वर्षको सुरुदेखि नै अरुण तेस्रो जलविद्युत् आयोजनामा लगानी आएको देखिन्छ,’ स्रोतले भन्यो, ‘अरुण तेस्रोबाहेक आएको अरू लगानी नगण्य छ । यस्तो अवस्थालाई उत्साहजनक भन्न नमिल्ला ।’

चालु आर्थिक वर्षको पहिलो महिनामा साढे ६५ प्रतिशत विदेशी लगानी घटेको थियो । तर भदौयता निरन्तर रूपमा विदेशी लगानी बढेको राष्ट्र बैंकका मासिक प्रतिवेदनहरूले देखाएका छन् । गत आर्थिक वर्षका भदौ र असारबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । त्यति बेला कोभिड संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर परेको बताइको एसमाचार आजको कान्तिपुरले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij