ई–आर्थिक, काठमाडौँ । ६ करोड ठगी गरेको आरोपमा निर्माण व्यवसायी अनुप पाण्डे पक्राउ परेका छन् । काठमाडौँमा लुकिछिपी बस्दै आएका पाण्डेलाई शनिबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले पक्राउ गरेको हो । उनीविरुद्ध विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए ।
पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
पाण्डेले तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा पाएका थिए । तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा समेत रहेका ठेकेदार पाण्डेविरुद्ध १६ जनाले ठगी गरेको भन्दै उजुरी दिएका थिए ।
पाण्डेविरूद्ध घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गेहेन्द्र बस्नेतले एक करोड ४४ लाख ठगी गरेको भन्दै गत माघमा जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएका थिए ।
छोराविरुद्ध उजुरी परेपछि एमाले केन्द्रीय सदस्यसमेत रहेका मेयर घनश्यामले बस्नेतलगायतसँग छलफल गर्दै आएका थिए । उनले छलफल गरेर विवाद साम्य पार्ने प्रयास गर्नुका साथै पैसा तिर्ने वचनसमेत दिएका थिए। तर, पैसा नपाएपछि बस्नेतले अनुपले दिएको चेकको प्रमाणसहित प्रहरीमा उजुरी दिएका थिए ।
पीडित व्यक्तिको जाहेरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । ठगी गरेकोबारे समाचारहरू प्रकाशित भएपछि ठेकेदार अनुपले विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गर्दै आएका थिए । उनले ठगी गरेको आरोप झूटा भएको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै विज्ञप्ति नै निकालेका थिए ।