काठमाडौँ । सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता तथा उनीहरूको परिवारले हालसम्म ७८ करोड ६२ लाख रुपियाँ दाबी भुक्तानी लिएका छन् । कोषबाट सञ्चालनमा ल्याइएका चारवटा योजनाअन्तर्गत १६ हजार ७३२ योगदानकर्ता र उनीहरूका परिवारले उक्त रकम भुक्तानी लिएका हुन् । कोषका अनुसार कोषमा योगदान रकम जम्मा गर्ने तीन लाख १६ हजार ९७१ मध्ये चारवटा योजनाबाट त्यो सङ्ख्याले भुक्तानी पाएका छन् । यसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्वमा पाँच हजार ९७७ जनाले १० करोड ९१ लाख ८७ हजार लिएका छन् ।
यसरी नै दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत २१७ श्रमिकले एक करोड छ लाख १४ हजार रुपियाँ लिएका छन् भने आश्रित परिवार सुरक्षाअन्तर्गत १६७ जनाले दुई करोड नौ लाख ८९ हजार रुपियाँ लिएका छन् । वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत १० हजार ३७१ जनाले ६४ करोड ५४ लाख ५० रुपियाँ बराबरको लाभ पाएका छन् ।
कोषका अनुसार कोरोना सङ्क्रमणका कारण उद्योग प्रतिष्ठान दुई वर्षयता पूर्ण रूपमा सञ्चालन हुन नसके पनि सामाजिक सुरक्षामा सूचीकरण हुने रोजगारदाता र योगदानकर्ताको सङ्ख्या भने वृद्धि भइरहेको छ ।सामाजिक सुरक्षा योजना २०७६ साउनबाट कोषमा सूचीकृत हुन सुरु भएको उक्त योजनामा हालसम्म १६ हजार ७३२ रोजगारदाता प्रतिष्ठान र तीन लाख १६ हजार ९७१ योगदानकर्ता आबद्ध भएका छन् । कोषमा योगदानकर्ताले योगदान गरेको रकम हालसम्म १३ अर्ब ३७ करोड रुपियाँ पुगेकोे कोषले जनाएको छ ।
कोषका अनुसार हालसम्म कोषमा योगदान गरिरहेका मध्येबाट १५० योगदानकर्ताका परिवारले मासिक पेन्सन सुविधा प्राप्त गर्दै आएका छन् । कोषका चार योजनामध्ये आश्रित परिवार योजनाअन्तर्गत योगदानकर्ताको मृत्यु भएमा निजको परिवारलाई मासिक पेन्सन सुविधा आजीवन दिने व्यवस्थाअनुरूप १५० जनाले मासिक बढीमा ८३ हजार र कमीमा तीन हजार लिँदै आएका छन्, जसका लागि कोषले मासिक २५ लाख रुपियाँ खर्च गर्दैआएको छ ।
यसैगरी जुनसुकै कारणले योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले खाइपाई आएको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम निज जीवित रहेसम्म निवृत्तिभरण पाउने व्यवस्था छ ।कोषका सहप्रवक्ता रोहित रोग्मीले कोषले दिने योजनाबाहेक योगदानकर्तालाई प्रतिष्ठान वा रोजगारदाताले दिँदै आएको सेवासुविधा पनि दिनुपर्ने कानुनी व्यवस्था रहेको बताउनुभयो । यसरी नै योगदानकर्ताको मृत्यु भएमा निजको सन्तति २१ वर्ष उमेर पूरा नभएसम्म योगदानकर्ताको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा शैक्षिक वृत्तिबापत पाउने उल्लेख रहेको समाचार सीता शर्माले आजको गोरखापत्रमा लेखेकी छन् ।