ई–आर्थिक, काठमाडौं । रुसले निरन्तर आक्रमण गरिरहँदा युक्रेनको राजधानी किएभका हजारौँ बासिन्दाले शहरको अन्डरग्राउण्ड मेट्रो स्टेशनमा शरण लिएका छन् ।
बम आक्रमणबाट जोगिनका लागि उनीहरु सीमित खाना र पानीसहित सपरिवार मेट्रो स्टेशनको आश्रयमा आएका हुन् ।
रेल सेवा सुचारु रहेको छ भने पेटीमा सर्वसाधारणले आश्रय लिएका छन् । उनीहरुले सञ्चारका लागि टेलिग्राम एप्लिकेशनको प्रयोग गरिरहेका छन् ।
टेलिग्रामको एक सार्वजनिक समूहमा एक महिलाले मेट्रोमै सन्तान जन्माएको खबर सार्वजनिक भएको छ । नवजात शिशुको तस्बिर पनि राखिएको छ । शुक्रबार राति रुसी आक्रमणको भयानक आवाजकाबीच ती महिलाले सन्तान जन्माएकी हुन् ।