ई–आर्थिक, काठमाडौं । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गरेको समाचारमा जनाइएको छ।
रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्ने र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी बाइडेनले नयाँ नाकाबन्दीको घोषणा गरेका हुन्। रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ।

रुसले केही महिनाको प्रयासपछि बिहीबार युक्रेनमा हमला गरेको थियो। सैन्य हमलामा परी युक्रेनको राजधानीलगायतका सहरमा सयाैं नागरिकको ज्यान गएको छ। सो हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य सहरमा प्रदर्शनहरू भएका छन्। ती प्रदर्शनमबाट अहिलेसम्म एक हजार ७०० जनालाई पक्राउ गरिएको छ।
रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रबार दोस्रो दिन हो। रुसले गरेको सो आक्रमणका विरुद्धमा रुसी राजधानीमा नै युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा आएका थिए।
रुसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन्। ती प्रदर्शनहरुमा रुसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ।