ई–आर्थिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरले पाएका छन् । प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीको ५८ बर्षे हदका कारण अवकाश पाएपछि महानिर्देशक पद रिक्त भएपछि ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो । अर्को निर्णय नहुञ्जेलसम्मका लागि आइतबार प्राधिकरणका उपमहानिर्देशक ठाकुरलाई निमित्तको जिम्मेवारी सुम्पेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीको शुक्रबार ५८ वर्षे हदका कारण अवकाश भएपछि महानिदेशकको पद शुक्रबारदेखि रिक्त भएको थियो । उनलाई प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० गते वरिष्ठताका आधारमा महानिर्देशक नियुक्त गरेको थियो ।
क्षत्रीले चार वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्ने दाबी गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
सर्वोच्चले क्षत्रीको रिटमा शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दाबारे सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले यही पुस ३० गते सम्बन्धित पक्षलाई छलफलमा बोलाएको छ ।
मन्त्रालयले अदालतको आदेश पत्र दर्ता हुनुअघि ठाकुरलाई निमित्तको जिम्मेवारी दिएको जानकारी दिएको छ ।