ई–आर्थिक, काठमाडौं । नेपालमा अहिले सुनको मूल्य प्रति १० ग्राम ८० हजार रुपैयाँको हाराहारीमा रहेको छ । गएको चार महिनामा नेपालमा १० अर्ब रुपैयाँभन्दा बढीको सुन आयात भएको तथ्याङ्क भन्सार विभागको छ ।
लगानीका रूपमा होस् वा सामाजिक प्रतिष्ठाका लागि वा थुप्रै विद्युतीय उपकरणको निर्माणका लागि आवश्यक धातुका रूपमा सुनको माग विश्वभरि बढिरहेको छ ।
संसारमा सुनको मूल्यमा उतारचढाव हुँदा वा उत्पादन एवम् आयात निर्यातको तथ्याङ्क आउँदा उठ्ने पहिलो प्रश्न भनेको पृथ्वीमा सुनको भण्डार कति बाँकी छ भन्ने हो ।
सुन पृथ्वीमा उपलब्ध धातु भएकोले कुनै दिन यो खानीबाट झिक्न नसकिने गरी सकिन्छ । तर यो बहुमूल्य धातु कहिले सकिन्छ त ?
विज्ञहरूले उच्च उत्खनन बिन्दुको कुरा गर्छन् जब कुनै एक वर्षमा उत्खनन गर्न सकिने उच्चतम परिमाणमा सुन झिकिन्छ । कतिपयको विश्वास छ संसार त्यो बिन्दुमा पुगिसकेको छ ।
सन् २०१९ मा सुनखानीको कुल उत्पादन ३५३१ टन पुगेको जुन सन् २०१८ मा १ प्रतिशतले कम रहेको विश्व सुन परिषद्ले जनाएको छ । त्यो वर्ष सन् २००८ यता पहिलोपटक उत्पादनमा अघिल्लो वर्षभन्दा कमी आएको थियो ।
आगामी वर्षहरूमा खानीबाट सुन उत्खननमा केही कमी आएपनि उच्चतम बिन्दुमै पुगिसकेको भन्न अलि चाँडो हुने परिषद्का प्रवक्ता ह्याना ब्र्यान्डस्टेटरले बताए ।
विश्वको सुन उत्पादन। सन् २०१० देखि सन् २०२० सम्म
उच्चतम बिन्दुमा पुगेपनि त्यसको केही वर्षसम्म सुनको वार्षिक उत्पादनमा नाटकीय गिरावट नआउने विज्ञहरू ठान्छन् । ‘सुनखानीका उत्पादन स्थिर तहमा पुगेको छ। अब सम्भवतः घट्दै जानेछ । तर नाटकीय गिरावट हुनेछैन, ‘मेटल्सडेली डटकमका रस नर्म्यान भन्छन् ।’
अब कति बाँकी छ ?
खानी कम्पनीहरूले जमिनमा कति सुन बाँकी छ भनेर दुई किसिमबाट अनुमान गर्छन् । सुन खानीहरूले जमिनमुनि बाँकी रहेको सुनको मात्रा दुई प्रकारले निर्धारण गर्छन् ?
–रिजर्भ : सुनको मूल्यको हिसाबले खानीबाट उत्खनन गर्दा फाइदा हुने सुनको मात्रा
–रिसोर्स : भविष्यमा सुनको मूल्य बढ्दा वा उत्खनन सस्तो हुँदा उत्खननबाट फाइदा हुने सुनको मात्रा
सुन कति रिजर्भ छ भन्ने कुरा सुनको रिसोर्सभन्दा सजिलोसँग हिसाब गर्न सकिन्न तर त्यो सहज अनुमान भने होइन । अमेरिकी भूगर्भ विभागले जमिनमुनि अब ५०,००० टन सुन बाँकी रहेको आकलन गरेको छ ।
सन् २०१९ को अन्त्यमा जमिनमाथि अर्थात् संसारभर कुल १९७,५७६ टन सुन रहेको विश्व सुन परिषद्को तथ्याङ्क छ ।
यी सङ्ख्याको आधारमा २० प्रतिशत सुन खानीमा रहेको आकलन गर्न सकिन्छ तर यी सङ्ख्याहरू परिवर्तन हुन सक्छन् । नयाँ प्रविधिले अहिले फाइदा नहुने सुन उत्खनन गर्न सकिने हुन सक्छ ।
आर्टिफिसिअल इन्टेलिजन्स, विशाल तथ्याङ्क प्रशोधन र स्मार्ट तथ्याङ्कका कारण सुन उत्खनन खर्च कम हुन सक्छ ।
केही खानीमा रोबोटहरू प्रयोग गर्न थालिएको छ र त्यो प्रविधि सबै खानी उत्खननमा प्रयोग हुने अपेक्षा गरिएको छ ।
सुनका ठूला खानी
इतिहासमै सबैभन्दा ठूलो सुन खानी भनेको दक्षिण अफ्रिकाको विटवाटर्सर्यान्ड बेसिन हो । अहिलेसम्म उत्खनन भएका करिब ३० प्रतिशत सुन त्यहीबाट निकालिएको हो । दक्षिण अफ्रिकाकै निकै गहिरो एमपोनेङ्, अस्ट्रेलियाको सुपर पिट र न्यूमोन्ट बोडिङ्टन, इन्डोनेसियाको ग्रासबर्ग र अमेरिकाका नेभाडाका खानीहरू सबैभन्दा धेरै सुन भएका खानीहरू हुन् । अहिले सबैभन्दा धेरै सुन उत्पादन गर्ने देश चीन हो भने क्यानडा, रुस र पेरु पनि ठूला उत्पादक हुन् ।
अझै नयाँ सुन खानीहरू पत्ता लागिरहेका भए पनि विशाल खानीहरू पत्ता लाग्न धेरै कठिन हुने विज्ञहरू बताउँछन् । यसको अर्थ अझै पनि दशकौँ पुराना खानीबाटै धेरै सुन उत्पादन भइरहेका छन् ।
उत्खनन नै कठिन
ठूलो परिमाणमा सुन उत्खनन गर्ने कार्य कठिन हुन्छ र यसका लागि जमिनमुनि र माथि निकै उपकरण, विज्ञता र मानव स्रोत आवश्यक पर्छ । ‘विशाल, कम खर्चिलो र पुराना खानीहरूमा सुन सकिँदै गएकाले उत्खनन कार्य कठिन हुँदै गएको छ,’ ब्रान्डस्टेटरले भनिन् । ‘चिनियाँ खानीहरू साना छन् त्यसैले खर्चिला छन् ।’
सन् २०२० को अगस्टमा महामारीका कारण धेरै लगानीकर्ताहरूले सुनमा लगानी गर्न चाहेपछि सुनको मूल्य सबैभन्दा उच्च भएको थियो । विश्वमा सुन खानी नखोजिएका ठाउँहरू कमै छन् । सङ्घर्षग्रस्त पश्चिम अफ्रिकामा सुनखानी हुनसक्ने अनुमान गरिन्छ ।
कहाँ होला सुन ?
पृथ्वीमा कति सुन छ भन्ने कुरा ठ्याक्कै थाहा पाउन नसकिए पनि हाम्रो ग्रह मात्रै सुनको खानी होइन । चन्द्रमामा पनि सुन छ । तर अहिलेको मूल्यमा चन्द्रमामा सुन उत्खनन गरेर पृथ्वी ल्याउनु धेरै महँगो पर्छ ।
‘त्यहाँ भए पनि उत्खनन गर्नु फाइदाजनक छैन, ‘अन्तरिक्ष विज्ञ सिनेड ओसुलेभान भन्छन्। ूबेचेर आउने पैसाभन्दा धेरै उत्खनन गर्दा लाग्छ ।’
एन्टार्टिकामा पनि सुन खानी छन् तर त्यहाँ उत्खनन गर्ने कार्य पनि त्यहाँको चरम मौसममा कहिल्यै फाइदाजनक नहुन सक्छ । समुद्रको भुँइमा पनि सुन खानी छन् तर ती पनि फाइदाजनक छैनन् ।
खनिज तेलको तुलनामा सुनको फाइदा भनेको यो पुनर्प्रयोग गर्न मिल्छ । त्यसैले सुन खानीमा सुन सकिए पनि संसारमा सुन बाँकी रहन्छ ।
मोबाइल फोन जस्ता उपकरणमा प्रयोग भएका सुन भने हराएर जान्छन् तर एउटा मोबाइलमा एकदमै थोरै मात्र सुन हुन्छ र ती सुनलाई झिक्ने प्रयासहरू सुरु भइसकेको समाचार जस्टिन हार्परले बीबीसीमा लेखेका छन् ।