ई–आर्थिक, काठमाडौं । सूचना प्रविधिमा आधारित पछिल्लो समय सुहाउँदो सेवा प्रदान गर्दै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न क्लियरिङ्ग हाउसले शुल्क घटाएको जनाएको जानकारी दिएको छ ।
नेसनल पेमेन्ट स्विचअन्तर्गत रिटेल पेमेन्ट स्विचको कार्यान्वयनलाई थप सहज गर्न मंसिर ७ गतेदेखि कम भुक्तानीबापतको शुल्क घटाएको कम्पनीले जनाएको छ । यसअघि रकमको आधारमा न्यूनतम २ रुपैयाँदेखि अधिकतम १५ रुपैयाँसम्म शुल्क लाग्ने व्यवस्था थियो ।
अब भने ग्राहकले ५ सयसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २, र ५ सयभन्दा माथि ५ हजारसम्म प्रतिकारोबार शुल्क ४ र ५ हजारभन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ मात्रै तिरे पुग्छ । यसले ग्राहकलाई एनसीएचएलका कनेक्ट आईपीएस वेब, मोबाइल एप, बैंकरवित्तीय संस्थाका मोबाइल÷इन्टरनेट बैंकिङ वालेटमा फन्ड लोडरविड्रलगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने कम्पनीले जनाएको छ।
कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रतिकारोबार शुल्क २ देखि ५ कायम थियो ।
हालै नेपाल राष्ट्र बैंकबाट बैंक/वित्तीय संस्थाको मोबाइल बैंकिङमा कारोबर शुल्क १० देखि अधिकतम ३० रुपैयाँसम्म तोकिएको थियो । संस्थाका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्ट आईपीएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या १ लाख १७ हजार १२ तथा रकमको आधारमा दैनिक औसत ८ खर्ब ३ अर्ब रुपैयाँ छ । कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलमार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने नेपाल क्लियरिङ हाउसले जनाएको छ ।