ई–आर्थिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन २५ गते बिहीवारसम्म १२ जनाको आवेदन परेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
उक्त पदका लागि आवेदन दिनेहरूमा नीरज गिरी, डा. नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवि चापागाईं, कृष्ण प्रसाद आचार्य, जीवन अमगाई, गोपाल भट्ट, डा केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, अम्बिका रिमाल र हेमन्त बस्याल अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यसअघि सरकारले सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको भन्दै तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेपछि अध्यक्ष पद रिक्त भएको थियो ।
त्यसपछि रिक्त रहेको पदमा अर्थ मन्त्रालयले नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पोडेल, अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यका रुपमा प्राडा नारायणप्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको छ ।
१२ जना आवेदकबाट ३ जना नाम छनौट गरी सिफारिस समितिले सरकारसमक्ष सिफारिस गर्नेछ ।
समितिको सिफारिसका आधारमा सरकारले तीन जनामध्ये एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रावधान रहेको छ । सो पदका लागि धितोपत्र बोर्डका दुईजना कर्मचारीले आवेदन दिएका छन् । बोर्डमा कार्यरत कार्यकारी निर्देशक निरज गिरी र नायब कार्यकारी निर्देशक डा. नवराज अधिकारीले आवेदन दिएका हुन् । कार्यकारी गिरीले यसअघिका अध्यक्ष पदमा निरन्तर आवेदन दिंदै आएका थिए । त्यसैगरी आवेदन दिने अन्यमा नेप्सेका पूर्वकार्यकारी अधिकृत, बैंकर, बीमा समितिका पूर्व अध्यक्ष, चार्टर्ड एकाउन्टेन्ट तथा लगानीकर्ताहरु रहेका छन् ।
आर्थिक क्षेत्रको महत्वपूर्ण पद भएपनि उक्त पदमा रहन राजनीतिज्ञको आशिर्वाद आवश्यक हुन्छ । अहिले शक्तिकेन्द्रमा विशेषगरी माओवादी केन्द्रका साथै नेपाली काँग्रेस, नेकपा (समाजवादी) को विशेष ‘तुरूप’ ले काम गर्छ ।
अर्थ मन्त्रालय माओवादी केन्द्रमातहतमा भएको हुनाले त्यही ‘तुरूप’ उपयोग गर्दा पद प्राप्त गर्न सकिन्छ भनेर सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ कोमा आवेदकहरूको बढी दौडधुप भइरहेको समाचार स्रोतले जानकारी दिएको छ । ती लगायत प्रधानमन्त्री शेरबहादुर देउवाकोमा जाने विभिन्न भरपर्दो माध्यम खोजी गर्दै ती शक्तिकेन्द्रमा आवेदकको दौडधुप चलिरहेको बुझिएको छ ।