२०८३ साउन १४ बिहिबार

नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा उपाध्याय, केही बैंक एग्रेसिभ हुँदा बैंकिङ प्रणालीमा समस्या आएको गभर्नर अधिकारीको आरोप

ई आर्थिक    बिहिबार, कार्तिक २५ २०७८
4K
Shares
नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा उपाध्याय, केही बैंक एग्रेसिभ हुँदा बैंकिङ प्रणालीमा समस्या आएको गभर्नर अधिकारीको आरोप

ई–आर्थिक, काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय चयन भएका छन् । मंगलबार राजधानीमा सम्पन्न साधारण सभाले उपाध्यायलाई सर्वसहमतिमा चयन भएका हुन् ।

एसोसिएसनका निवर्तमान अध्यक्ष भुवनकुमार दाहालको दुईवर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षकालागि संघका अध्यक्ष उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । यसैगरी एसोसिएसनको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल केसी चयन भएका छन् । उनी एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

त्यस्तै एसोसिएसनको सदस्यमा मेगा बैंककी सीईओ अनुपमा खुन्जेली, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाह, सनराइज बैंकका सीईओ सुमन शर्मा, नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार देव, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपाने चयन भएका छन् ।

एसोसिएसनको पूर्वअध्यक्षहरू ज्ञानेन्द्रप्रसाद ढुंगाना, अनिशकेशरी शाह, अशोकशमशेर राणा सल्लाहकारमा रहेका छन् ।

एसोसिएसनको सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही बैंकहरू एग्रेसिभ भइरहेको आरोप लगाए । केही बैंकहरु एग्रेसिभ हुँदा बैंकिङ प्रणालीमा समस्या आएको समेत उनले बताए ।

गभर्नर अधिकारीले चालू आवको सुरुमै निजी क्षेत्रमा गएको कर्जाका कारण तरलतामा चाप परेको बताए । चालू आवको सुरुमै ३२ प्रतिशत क्रेडिट चाप बढेको थियो र बैंकहरूले घाँटी हेरेर हाड ननिलेका कारण समस्या आएको उनले बताए ।

यसैगरी, उनले यस समयमा रेमिट्यान्स नबढेको र पुँजीगत खर्च पनि कम भएकाले तरलतामा चाप परेको बताए । उनले ब्याजदर समयअनुकूल बनाएर वित्तीय अवस्था स्वस्थ बनाउनसमेत बैंकहरूलाई आग्रह गरे । प्रतिस्पर्धाबाट मूल्य तय हुनुपर्ने त्यसको लाभ सबै ग्राहकले पाउनुपर्ने उनको भनाइ थियो ।

बैंकको भूमिका सहजकर्ताको हुनुपर्ने र अस्वस्थ प्रतिस्पर्धा नगर्न समेत उनले आग्रह गरे । उनले तत्कालै नाफा नखोज्ने, नियममा लुपहोल नखोज्न र दीर्घकालीन सोच राखेर काम गर्न सुझाव दिए । उनले तरलता अलिकति अभाव हुँदा नआत्तिनसमेत आग्रह गरे । गभर्नर अधिकारिले बैंकिङ क्षेत्रको वृद्धिदर आर्थिक क्षेत्रको वृद्धिदरसँग मेल खानु आवश्यक भएको समेत जानकारी गराए ।

नेपाल बैंकर्स एसोसिएसनका निवर्तमान अध्यक्ष भुवन दाहालले यसबिच ठूलो समस्याका बाबजुद व्यवसायीले ब्याजदरमा रहेको स्प्रेडको कारण लाभ लिन सकेको बताए । उनले बैंकरहरूलाई कानुनले तर्साएकोले सो वातावरण अन्त्य हुनुपर्ने बताए । बैंकिङ कसुरसम्बन्धी कानुनका कारण बैंकरहरू त्रसित भएको बताउँदै निवर्तमान अध्यक्ष दाहालले भने, ‘मौद्रिक नीतिमार्फत त्यसमा संशोधन हुनेमा बैंकरहरू आशावादी रहेका छन् ।’

कार्यक्रममा एसोसिएसनले सम्मान समेत गरेका सम्मानित व्यक्तित्वका रूपमा आफ्नो मन्तव्य राख्दै अर्थविद् डा. शंकर शर्माले नेपालको आर्थिक क्षेत्रको सुधार गर्ने क्रममा आफूलाई राष्ट्र प्रमुख, प्रधानमन्त्रीदेखी ठूला राजनीतिक दलका नेताहरूले समयमा नै ऋण नतिर्ने खराब नियत भएका व्यवसायीलाई कारबाही नगर्न दबाब दिएको खुलासा गरे । उनले राष्ट्र बैंकलाई सरकारले दबाब दिने, नियन्त्रणमा राख्न खोज्ने, निर्देशन दिने काम सही हो वा गलत हो भन्ने विषयमा बहसको खाँचो रहेको बताए । यसैगरी, उनले बैंकिङ क्षेत्रको जोखिमलाई निरन्तर रूपमा हेर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij