२०८३ साउन २२ शुक्रबार

नमुना ल्याएर डेरीलाई तर्साउँदै, उन्मुक्ति पनि दिँदै

ई आर्थिक    शुक्रबार, भाद्र १८ २०७८
5.9K
Shares
नमुना ल्याएर डेरीलाई तर्साउँदै, उन्मुक्ति पनि दिँदै

तीन वर्षयता उपत्यकाका २९ डेरीबाट संकलित दूध, दहीको नमुना परीक्षण गर्दा अधिकांश न्यून गुणस्तरको पाइए पनि निजी डेरीविरूद्ध मुद्दा चलाइएन

काठमाडौं । खाद्य वस्तुको गुणस्तर नियमन/सुधार गर्ने दायित्व पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निजी डेरीबाट उत्पादित सामग्रीको नमुनामा कैफियत देखिए पनि उन्मुक्ति दिने गरेको पाइएको छ ।

विभागले तीन वर्षयता उपत्यकामा रहेका झन्डै २९ डेरीबाट नमुना संकलन गरी परीक्षण गरेको थियो । परीक्षणका क्रममा धेरैजसो डेरीबाट संकलित नमुनाको गुणस्तर न्यून भेटिए पनि उनीहरूविरुद्ध कारबाही भएको छैन । गुणस्तरीय उत्पादन नगर्नेलाई खाद्य ऐनअनुसार मुद्दा दायर हुनुपर्छ ।

‘विभागका चार खाद्य निरीक्षकबाट सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) सहित २९ डेरीबाट नमुना संकलन भएको थियो । परीक्षण गर्दा धेरैमा न्यून गुणस्तर, फ्याटको मात्रा कमी रहेको पुष्टि भयो,’ विभागका एक अधिकारीले भने, ‘तर दुई/तीन वर्ष बित्दासमेत मुद्दा दर्ता भएको छैन । नमुना ल्याउँदै रिपोर्ट देखाएर तर्साउनेबाहेक केही भएन ।’ ती अधिकारीका अनुसार विभागका खाद्य निरीक्षक कौशल ओझाले २०७७ असोज/कात्तिकमा सीताराम गोकुल, राजधानी डेरी, हिमालयन डेरी र सामूहिक डेरीबाट नमुना संकलन गरेका थिए । हिमालयन डेरीबाहेक अन्यमा कैफियत देखिए पनि कारबाही भएन । ‘मापदण्डविपरीत कोलिफर्म र फ्याटको मात्रामा समस्या देखियो । तर मुद्दा दर्ता भएन,’ ती अधिकारीले भने ।

विभागकै अर्का खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले २०७५ मा राजधानी, संयुक्त डेरी, नवप्रभाव र डीडीसीबाट नमुना ल्याएका थिए । तर ती डेरीहरूको पनि कारबाही प्रक्रिया अझै टुंगिएको छैन । ‘४ वटा फाइल सरकारी वकिलको कार्यालयमा पठाइएको छ, त्यहाँबाट फाइल फिर्ता आएपछि यत्तिकै छ,’ ती अधिकारीले भने । २०७६ मा खाद्य निरीक्षक सन्तोष ढकालले पनि डीडीसीसहित कन्ट्री फुड्स, मोर्डन डेरी, कालीका डेरी, जगदम्बा डेरी, काठमाडौं डेरी, आधुनिक डेरी, शिवम् डेरी, भक्तपुर डेरीलगायत ११ डेरीबाट दहीको नमुना संकलन गरे । ती नमुनामा पनि कैफियत भेटियो । तर कुनै डेरीविरुद्ध पनि मुद्दा दर्ता भएन ।

खाद्य निरीक्षक ईश्वर सुवेदीले पनि २०७६ भदौमा ९ डेरी उद्योगबाट नमुना संकलन गरे । लैनचौर र बालाजु दुग्ध प्लान्टबाट ३ वटा र अन्य ६ निजी डेरीबाट नमुना संकलन गरेका थिए । तर २ वर्षपछि मात्रै राजधानी, बालाजु र नेपाल डेरीको फाइल सरकारी वकिलको कार्यालयमा पठाइएको छ । ‘३ वटा डेरीको हकमा २०७८ साउन १५ मा सरकारी वकिलको मा फाइल पठाइएको छ । पुष्प, भद्रकाली, सीताराम गोकुल, हाम्रो डेरीको हकमा यत्तिकै छ,’ ती अधिकारीले भने । विभागको वार्षिक प्रतिवेदनमा भने यी डेरी सञ्चालकको हकमा बारम्बार पत्राचार गरिएको र मान्छे नभेटिएको दाबी गरिएको छ । ‘यी डेरीमध्ये एकका सञ्चालक त दुग्ध विकास बोर्डकै सदस्य छन्,’ कृषि तथा पशपन्छी विकास मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘मान्छे फेला पर्दैन भन्नु नै गैरजिम्मेवार हो । यस्तो भन्न मिल्दैन ।’

प्रशोधन र सरसफाइमा पर्याप्त ध्यान नदिँदा संकलित नमुनामध्ये दहीमा कोलिफर्म र दूधमा हुनैपर्ने गुणस्तर कम देखिएको थियो । दूधका केही नमुनामा ठोस पदार्थ कम र कोलिफर्म भेटिएको थियो । कोलिफर्म दुई प्रकारका हुन्छन्, इस्चेरिचिया कोली र नन इस्चेरिचिया कोली । अन्तर्राष्ट्रिय मान्यताअनुसार विदेशमा ५ देखि १० प्रतिशतसम्म कोलिफर्म हुनुलाई खान योग्य मानिएको छ । यद्यपि नेपालको हकमा भने शून्य नै हुनुपर्ने व्यवस्था छ । तर सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्योगी व्यवसायीलाई उन्मुक्ति दिइएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

‘पछिल्लो समय आर्थिक, राजनीतिक दबाबमा काम भइरहेको छ । आफ्नो स्वार्थअनुकूल निर्णय गर्ने गरिएको छ,’ उनले भने, ‘महानिर्देशक नै चोखो छवि बनाउने नाममा संकलन गर्न सके जति रकम असुल गरेर लैजाने पक्षमा छन् । यसको फाइदा उद्योगी व्यवसायीले पनि उठाए ।’ धेरै दुग्ध उद्योगको उत्पादन मापदण्डविपरीत भए पनि स्वार्थकै कारण नियमनको दायरामा नल्याइएको महर्जनको भनाइ छ । खाद्यले गलत काम गरिरहँदा केही उपभोक्ताकर्मीले समेत मौन सर्मथन जनाइरहेको उनले आरोप लगाए । विभागका प्रवक्ता मोहन कृष्ण महर्जन भने मुद्दा दर्ताका लागि हद म्यादको समय नहुँदा ढिलाइ भएको तर्क गर्छन् । ‘बयान नलिई मुद्दा प्रक्रियामा जाँदैन । सरकारी वकिलको कार्यालयले सबै प्रक्रिया नपुर्‍याई मुद्दा दर्ता हुँदैन,’ उनले भने, ‘सरकारी वकिलको कार्यालयले सहमतिमा मात्रै मुद्दा प्रक्रियामा जाने हो । जसले गर्दा कसैको एक–दुई महिना त कसैको एक–दुई वर्षसम्म पनि लाग्ने गरेको छ ।’ व्यवसायीहरूले बयान नदिएसम्म लाइसेन्स रिन्यु नहुने उनले बताए ।

विभागको प्रतिवेदनअनुसार जिल्लामा डेरी उद्योगले लेबल नराखेको कसुरमा पनि मुद्दा दायर गरिएको छ । दूधमा ठोस पदार्थ कम, कोलिफम भेटिँदा पनि उपत्यकामा कारबाही हुन सकेको छैन । आर्थिक वर्ष २०७६/७७ मा विभागको पर्सा र हेटौंडा डिभिजन कार्यालयले दही/घिउ न्यून गुणस्तरीय भएको भन्दै ५ डेरीविरुद्ध मुद्दा दायर गरेको छ । २०७७ मा दहीमा लेबल नभएको भन्दै हेटौंडा डेरी इन्डस्ट्रिज प्रालिविरुद्ध मुद्दा दर्ता भएको छ । उपत्यकाको हकमा डीडीसीको दुग्ध वितरण आयोजना बालाजु र लैनचौरविरुद्ध मुद्दा दायर गरे पनि निजी डेरीविरुद्ध दायर गरिएको छैन । ‘निजी क्षेत्रको नमुना संकलन गर्ने तर कैफियत भेटिए पनि मुद्दा दायर नगर्ने, मिलोमत्तोमा मुद्दा टुंग्याउने प्रवृत्ति छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘हद म्याद लाग्दैन भन्नु नै गलत हो । त्यो अवधिमा चलखेल गर्न मौका पाए ।’

विभागका महानिर्देशक उपेन्द्र रायले प्रक्रियागत विषयहरूले केही ढिलाइ भएको बताए । उनले पछिल्लो ३ वर्षमा निजी डेरीकै ६ वटा मुद्दा सरकारी वकिलको कार्यालयमा गएको बताए । ‘निजी डेरीको फाइल ४ खाद्य निरीक्षकले हेरेका छन् । ३५ दिने हद म्याद हुन्छ । कतिपयले चिठी बुझ्दैनन् । त्यही भएर समस्या भएको हो,’ उनले भने, ‘ऐनले खाद्य निरीक्षकलाई अधिकार दिएको छ । ढिलाइ हुँदा खाद्य निरीक्षक नै जिम्मेवार हुन्छन् ।’ यो समाचार राजु चौधरीले आजको कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij