२०८३ साउन २१ बिहिबार

शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री गुरुङ

ई आर्थिक    बिहिबार, साउन २१ २०८३
114
Shares
शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम राख्न सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताएका छन्।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले देशको शान्ति सुरक्षा कायम गर्न गृहमन्त्रालय सक्रिय रूपमा काम गरिरहेको बताए।

संवेदनशील घटनाबारे प्रश्न उठाउँदा सांसदहरूले पनि संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिँदै गृहमन्त्री गुरुङले कुनै व्यक्तिको परिवारका सदस्यको निधनजस्तो पीडादायी विषयलाई पटक–पटक उठाउँदा पीडित परिवारमा थप मानसिक असर पर्न सक्ने बताए।

उनले सम्बन्धित घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको उल्लेख गर्दै अनुसन्धान प्रभावित हुने गरी सार्वजनिक टिप्पणी गर्नु उपयुक्त नहुने धारणा राखे। साथै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई उक्त विषयलाई बारम्बार उठान नगर्न आग्रह गर्दै आवश्यक परे व्यक्तिगत रूपमा जानकारी लिन सकिने बताए।

गृहमन्त्री गुरुङले निर्मला पन्त हत्या प्रकरणबारे भने टिप्पणी गर्न चाहेनन्।

त्यसक्रममा राष्ट्रियसभा सदस्य विष्णुबहादुर विश्वकर्माले मन्त्रीको अभिव्यक्तिबाट आफ्नो विधायकीय अधिकार हनन भएको महसुस भएको बताउँदै संसदमा प्रश्न गर्ने सांसद र त्यसको जवाफ दिने मन्त्रीको अधिकार संसदीय अभ्यासको स्वाभाविक प्रक्रिया भएको स्मरण गराए।

फरक प्रसङ्गमा गृहमन्त्री गुरुङले मानसिक स्वास्थ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। नेपालले विभिन्न उतारचढावको सामना गरेकाले तीनै तहका सरकार मिलेर मानसिक स्वास्थ्यसम्बन्धी योजना निर्माण गरिरहेको जानकारी दिँदै उनले ११६६ हेल्पलाइन मार्फत आत्महत्या रोकथामका लागि प्रयास भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij