२०८३ साउन ११ सोमबार

सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) विक्री आजदेखि खुल्यो, ५४ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिने

ई आर्थिक    बुधबार, साउन २० २०७८
6.9K
Shares
सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) विक्री आजदेखि खुल्यो, ५४ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिने

ई–आर्थिक, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सेयर (आईपीओ) आज (बुधवार) देखि विक्री खुल्ला भएको छ । सर्वसाधारणमा कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको जनाएको छ ।

जेठ ९ गते आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले असार ३१ गते बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ । त्यसबाट बचेको बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्न लागेको हो । कम्पनीको कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री खुल्ला गरेको हो ।

यो आईपीओलाई कम्पनीले छिटोमा साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्मको मिति तय गरेको छ । प्रतिफलयुक्त उक्त आईपीओ खरीदका लागि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्न सक्ने भएकाले आउने भएकोले साउन २४ गते नै विक्री बन्द हुने निश्चित छ ।

उक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था कम्पनीले मिलाएको छ । यो आईपीओ निष्कासन तथा विक्री प्रवन्धकको जिम्मा भने प्रभु क्यापिटल लिमिटेडले पाएको छ ।

विक्री प्रबन्धकसँगै सि–आस्बा सेवासमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरो शेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २२ गतेदेखि व्यवसायिक यात्रा शुरु गरेको कम्पनीले रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्न आईपीओको सहारा लिएको हो ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी रू. २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ । हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेकोे कम्पनीको आईपीओ बाँडफाँट पश्चात कम्पनीको बीमा समितिले तोके बराबरको पूँजी कायम हुनेछ ।

कम्पनीको आर्थिक वर्ष २०७६÷७७ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ६७ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा रू. १० करोड ४८ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १० रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij