उद्योगको अधिकृत पुँजी बृद्धि गर्ने निर्णयसँगै १४ बर्षदेखि हुन नसकेको साधारणसभा एकै पटक सम्पन्न भएको छ
ई–आर्थिक, काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने भएको छ । उद्योगले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २०० रुपैयाँ बरावरको साधारण शेयर निष्काशन गर्ने प्रस्ताव साधारणसभावाट पारित गरेको छ ।
उद्योगको नाममा रहेको ऋणको साँवा रकम रू. १ अर्ब ७२ करोड ५० लाख र ब्याज रकम रू. १ अर्ब ६६ करोड ९ लाख २० हजार २०० रुपैयाँ गरी कुल रकम रू.३,३८,५९,२०,२००/– बराबरको सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने उद्योगका अध्यक्ष बलराम रिज्यालले राखेको विशेष प्रस्ताव सभाले पारित गरेको हो ।
उक्त रकम बराबर सर्वसाधारणलाई साधारण शेयर निष्काशन गरी नेपाल सरकारको साँवा तथा व्याज रकम राफसाफ गर्ने योजना उद्योगको रहेको छ ।
त्यसैगरी उद्योगको जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव पनि सो सभाबाट पारित भएको छ । सम्वन्धित निकायको स्विकृति लिई उद्योगको अधिकृत पूँजी रू. ४ अर्बबाट बृद्धि गरी १० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव सभामा पेश गरिएको थियो ।
त्यस्तै परिवर्तित सन्दर्भमा प्रचलित कानुन बमोजिम उद्योगको प्रवन्धपत्र नियमावलीमा समय सान्दर्भिक संशोधन गर्ने प्रस्ताव पनि पारित भएको छ ।
विशेष प्रस्तावका विषयहरुमा उद्योगको प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्तावमा नियमनकारी निकायहरु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका निकायहरुले संशोधन परिवर्तन वा थपघट गर्न निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप/घट गर्न प्रक्रियागत कार्यका लागि महाप्रवन्धक गोपीकृष्ण न्यौपानेलाई अख्तियारी प्रदान गर्ने सभाले निर्णय गरेको छ ।
उद्योगको १४ आर्थिक बर्षदेखि हुन नसकेको साधारणसभा एकैपटक सम्पन्न गरेकोे हो । उद्योगको समिक्षालय हल, जलजले उदयपुरमा सम्पन्न उक्त साधारणसभा कोभिड माहामारी जोखिमका कारण भिडियो कन्फ्रेन्स (भर्चुअल मिटिङ) मार्फत गरिएको थियो ।

उद्योगका अध्यक्ष बलराम रिज्यालको अध्यक्षमा सम्पन्न उक्त सभामा उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले स्वागत मन्तब्य राखेका थिए ।
स्वागत मन्तव्य राख्दै महाप्रबन्धक न्यौपानेले उद्योगको विगतको अवस्थाको संक्षिप्त विवरण र माघ १ गते पछिको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।
सभामा उद्योगका सञ्चालक, कमचारी संगठनका पदाधिकारीहरुका साथै सेयरधनीहरुका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका गिरीराज ज्ञवाली, उद्योग बिभागका गजेन्द्र पराजुली, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सृजना थपलिया, खानी तथा भूगर्भ बिभागका नारायण बास्कोटा, महालेखा नियन्त्रकको कार्यालयका गोरखबहादुर शाही, महालेखा परीक्षकको कार्यालयका बैकुण्ठ अधिकारी, कम्पनी रजिष्टारको कार्यालयका हरी अधिकारीलगायतलाई आमन्त्रण गरिएको थियो ।

सभाले २०औं देखि ३३औं सम्मको १४ आर्थिक बर्षको सञ्चालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ भने आ.ब. २०६४ देखि २०७७ सम्म तत्आर्थिक बर्षको अषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको सन्दर्भ आर्थिक बर्षको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पनि पारित भएको छ ।
त्यस्तै आर्थिक बर्ष २०६३/०६४ देखि २०७६/०७७ सम्मको महालेखा परीक्षकको कार्यालयबाट नियुक्त लेखापरीक्षक र निजले पाउने पारिश्रमिक अनुमोदन हुनुका साथै आर्थिक बर्ष २०७७/०७८ का लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने विषयमा पनि छलफल भएको छ ।
कुनै पनि कम्पनी या उद्योगको साधारणसभालाई आर्थिक अनुशासन र संस्थागत सुशासनको महत्वपूर्ण पाटोको रुपमा लिने गरिन्छ । तर यो उद्योगको त्यही साधारणसभा विगत १४ बर्षदेखि हुन सकेको थिएन् ।
उद्योगमा महाप्रबन्धकको रुपमा गोपीकृष्ण न्यौपाने आएपछि १४ आर्थिक बर्षदेखि हुन नसकेको साधारणसभा देखि उद्योग सुधारका थुप्रै प्रयासहरु भएका छन् ।
विशेषगरी उत्पादनको गुणस्तर, विक्री वितरणको सही व्यवस्थापन, कर्मचारीको हितलाई उचित सम्बोधन तथा व्यवस्थापन, उद्योगको दायित्व घटाउने, संस्थागत सुशासन तथा आर्थिक अनुसाशन कायम गर्ने जस्ता विषयहरूमा महाप्रबन्धक न्यौपाने योजनाबद्ध ढंगले लागि परेका छन् । उद्योगको समग्र अवस्थालाई गति दिने गरी उनले सुरू गरेको धेरै प्रयासले परिणाम समेत दिन थालेको छ । सिमेन्ट उत्पादन र विक्रीमा समेत नयाँ–नयाँ रेकर्ड राख्न सफल भइसकेका छन् ।
छोटो समयमै पनि व्यवस्थापकीय नेतृत्वले योजना र रणनीतिक ढंगबाट प्रयास गर्दा उद्योगले हरेक उपब्धिहरू हात पार्न सक्ने रहेछ भन्ने उनी यो उद्योगमा उदाहरण बनिरहेका छन् । उनको छोटो कार्यकालमा उद्योगमा एक पछि अर्को त्यस्ता धेरै उल्लेखनिय कार्य भइरहेका छन् ।
उद्योग सञ्चालक समितिका अध्यक्ष, सञ्चालक तथा सम्पूर्ण कामदार कर्मचारीहरुको सहयोगले नै आफ्नो योजना, रणनीति र प्रयासहरूले सफलता हात पारिरहेको महाप्रबन्धक न्यौपानेले बताए ।
महाप्रबन्धक न्यौपानेले आफ्नो छोटो कार्यकालमै उद्योगमा सुधारको धेरै राम्रा प्रयासहरू गरिरहेका हुनाले उनको कार्यकालमा उद्योगले राम्रो प्रगति गर्ने विश्वास लिइएको छ ।