२०८३ साउन २० बुधबार

सेयरको कृत्रिम माग सिर्जना गर्ने व्यवस्था रोकिँदै

ई आर्थिक    आइतबार, जेष्ठ ३० २०७८
8K
Shares
सेयरको कृत्रिम माग सिर्जना गर्ने व्यवस्था रोकिँदै

सेयर खरिदमा एओएन रोक्न निर्देशन प्राविधिक पाटो मिलाएर एक/दुई दिनमा रोक्ने नेप्सेको तयारी

काठमाडौँ : दोस्रो बजारमा लगानीकर्ताले सेयरको कृत्रिम माग सिर्जना गर्न नपाउने व्यवस्था हुन लागेको छ । ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा भएको अल अर नन (एओएन) भनिने उक्त सुविधा रोक्न धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिइसकेको छ । नेप्सेले एओएन सुविधा रोकेपछि बजारमा लगानीकर्ताले सेयरको कृत्रिम माग सिर्जना गर्न नपाउने भएकाले चलखेल नियन्त्रण हुने जानकारहरू बताउँछन् ।

‘एओएन रोक्न बिहीबार नेप्सेलाई पत्र पठाएका छौं,’ स्रोतले भन्यो, ‘सिस्टममा प्राविधिक कुरा मिलाएपछि नेप्सेले उक्त निर्देशन लागू गर्छ ।’ बोर्डबाट निर्देशन आएपछि उक्त व्यवस्था कार्यान्वयनका लागि सिस्टममा केकस्तो परिमार्जन गर्नुपर्छ भनेर नेप्सेले सफ्टवेयर निर्माण गर्ने कम्पनी वाइकोलाई आग्रह गरिसकेको छ । धेरै परिमार्जन गर्नुपर्ने रहेनछ भने आइतबारदेखि, नभए केही दिनमा एओएन बन्द गर्ने नेप्सेको तयारी छ ।

सेयर खरिदबिक्रीका क्रममा हाल लगानीकर्ताले एओएन भन्ने विकल्प पाउँछन् । यो आफूले खरिद वा बिक्री गर्न चाहेको कित्ता बराबर सेयर भए मात्र किनबेच गर्ने भन्ने हो । उदाहरणका लागि लगानीकर्ताले एक हजार कित्ता सेयर खरिद वा बिक्रीका लागि अर्डर गर्दा ‘अल अर नन’ र ‘नन’ मध्ये एउटा विकल्प छान्न सक्छ । मानौं, लगानीकर्ताले अल अर नन भन्ने विकल्प छनोट गर्‍यो । यसको अर्थ उसले अर्डर गरेको सेयर एकमुष्ट रूपमा मात्र खरिद वा बिक्री गर्न चाहेको भन्ने हो । हाल लगानीकर्ताले सेयर खरिद र बिक्री दुवै अवस्थामा यो सुविधा पाउँछन् । अहिले बोर्डले नेप्सेलाई सेयर खरिदको हकमा अल अर नन भन्ने विकल्प हटाउन निर्देशन दिएको हो । आफूले चाहेको सेयर एकमुष्ट रूपमा किन्ने वा ससानो कित्तामा भन्ने अधिकार लगानीकर्ताको हो । यही कारण नेप्सेले लगानीकर्तालाई यो सुविधा दिएको थियो ।

‘केही लगानीकर्ता र ब्रोकरको मिलेमतोमा बजारमा सेयरको कृत्रिम माग देखाउने प्रवृत्ति बढ्यो । यसो गर्दा सम्बन्धित कम्पनीको सेयरको माग बढी देखाएर मूल्य बढाउने काम भयो,’ स्रोतले भन्यो, ‘सेयर खरिदको हकमा एओएन विकल्प नदिएर सेयरको कृत्रिम माग सिर्जना गर्ने प्रवृत्ति नियन्त्रण गर्न खोजेका हौं ।’ यो व्यवस्था लागू भएपछि लगानीकर्ताले ‘सेयर खरिद गर्दा आफूले चाहेको सेयर एकमुष्ट रूपमा मात्र खरिद गर्छु । ससानो संख्यामा खरिद गर्दिनँ’ भन्न पाउँदैनन् ।

हाल सेयर बिक्रीका लागि अर्डर गर्दा आफ्नो डिम्याट खातामा भएको संख्याभन्दा धेरै राख्न पाइँदैन । सामान्यतया सेयर खरिदका लागि लगानीकर्ताले आफूसँग बैंक खातामा रहेको रकमभन्दा धेरैको सेयर माग गर्न नपाइने हो । सेयर खरिदमा ब्रोकरले लगानीकर्तालाई कारोबार सीमा प्रदान गर्नुपर्छ । यहीँनिर ब्रोकर र लगानीकर्ताबीच मिलेमतोमा एओएन सुविधाको दुरुपयोग हुँदै आएको थियो । यसअनुसार ब्रोकरले लगानीकर्तालाई ‘लिमिट फ्रि’ वा ‘अनलिमिटेड’ सुविधा दिँदै आएका छन् । यही सुविधा उपयोग गरी लगानीकर्ताले ठूलो परिमाणमा सेयर खरिदका लागि अर्डर गर्ने प्रवृत्ति मौलाएको स्रोतले बताएको छ ।

‘प्रायः ती अर्डर सेयर किन्न होइनन्, बजारमा माग सिर्जना गर्नकै लागि राखिएका हुन्छन् । यसकारण यस्ता अर्डर बराबर बिक्री नै आउँदैन,’ स्रोतले भन्यो, ‘कहिलेकाहीं माग गरिएअनुसार बक्री अर्डर आइहाले कारोबार नगरी रद्द गर्ने प्रवृत्ति बढ्दै गएको देखियो ।’ ब्रोकरको यस्तो बदमासी फेला पारेर नेप्सेले केही ब्रोकरलाई पत्रमार्फत स्पष्टीकरणसमेत सोधेको छ । केहीलाई त्यसो नगर्ने निर्देशन पनि दिइसकेको छ । ‘लगानीकर्तालाई किन अललिमिटेड कारोबार सुविधा दिइयो ? लगानीकर्ताले राखेको अर्डर वास्तविक हो वा पहिले अर्डर राखेर सेयर म्याच हुन लाग्दा किन रद्द गरियो भन्ने विषयमा ब्रोकर नम्बर ३९ र २० लाई नेप्सेले पत्र काटेको छ,’ स्रोतले भन्यो, ‘एओएन सुविधा दुरुपयोग गरेर बजारमा निश्चित कम्पनीको मूल्य बढाएको भेटियो ।’

ब्रोकरहरूले भने नेप्सेको कारोबार सिस्टमले लगानीकर्तालाई अनलिमिटेड कारोबारको अप्सन दिएको र आफूहरूले सोहीअनुसार कारोबार सीमा प्रदान गर्दै आएको बताएका छन् । नेपाली सेयर बजारमा २०७५ अघि यस्तो सुविधा थिएन । नेप्सेले अनलाइन सिस्टम बनाएपछि उक्त सुविधा पनि थपिएकै हो । पछिल्लो समयमा यो विषयमा विकृति बढ्दै गएपछि बोर्डले रोक्न निर्देशन दिएको हो । यसअघि भारतमा सेयर खरिद र बिक्री दुवैमा यो व्यवस्था थियो । विकृति बढेकाले नियन्त्रणका लागि भन्दै गत वर्ष (पहिलो लहरको कोभिडपछि) सो व्यवस्था हटाइएको समाचार यज्ञ बञ्जाडेले आजको कान्तिपुरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij