२०८३ साउन १० आइतबार

अत्याउने सञ्जाल !

ई आर्थिक    मंगलबार, जेष्ठ १८ २०७८
7.2K
Shares
अत्याउने सञ्जाल !

काठमाडौं : कोरोना भाइरस महामारीले मानव समुदायलाई आक्रान्त बनाएको छ। निषेधाज्ञाका कारण अधिकांश नेपाली अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाएका छैनन्। यस्तो बेला मन बहलाउन, सूचना ग्रहण गर्न, आफन्त तथा परिवारजनसँग वातचित गर्न सामाजिक सञ्जालको प्रयोग बढ्नु स्वाभाविकै हो। तर, फेसबुक, ट्विटर, टिकटकलगायत सञ्जालमा राखिने कतिपय ‘पोस्ट’ले खिन्न मात्रै होइन आतंकित नै बनाउँछन्। शवको तस्बिर, अनेक अफवाहलगायत सामग्रीले पीडितलाई त पीडा थप्छ नै सद्देलाई पनि बिरामी बनाउँछ।

भक्तपुरको गठ्ठाघर बस्ने प्रवीण निरौला अहिले आफूलाई सामाजिक सञ्जालले मानसिक रूपमा कमजोर बनाएको बताउँछन्। मृतकका वीभत्स तस्बिर राखेर सामाजिक सञ्जाल भरिँदा सञ्चै रहेका आफन्तलाई थप पीडा दिने गरेको निरौलाको बुझाइ छ।

‘फेसबुकको वाल हेर्नै मन लाग्दैन। कोरोना लागिहाले उपचार नपाएर मरिन्छ कि भनेरै अत्तालिन्छु। बच्चाहरूको खुब माया लागेर आउँछ’, उनी भन्छन्, ‘गलत सूचना र फोटोहरू पनि उत्तिकै सेयर भइरहेको हुन्छ। घरमा सामान्य खोकी लागे पनि कोरोनाले छोयो कि भनेर यसै बढी हुन्छ। औषधि लिन दौडिहाल्छु।’ मृतकको कारुणिक तस्बिर पोस्ट गर्ने प्रतिस्पर्धाजस्तै देखिएको छ। कसले छिटो पोस्ट गर्ने भनेजस्तो गलत प्रवृत्तिको विकास भएको छ। हुन त मृतकलाई श्रद्धाञ्जली व्यक्त गर्नु स्वाभाविकै हो। तर, सञ्जाल प्रयोगकर्ता संयमित नहुँदा आफन्त मात्रै होइन अरूलाई असर पर्ने तस्बिरसहितका पोस्टहरू भइरहेका छन्। जसले गर्दा अहिले सामाजिक सञ्जाल हेरिनसक्नु बनेको छ।

ललितपुरको इमाडोल बस्ने सिन्धुलीका वासु घिमिरेको निद्रा खलबलिन थालेको निकै भयो। ‘सामाजिक सञ्जालमा मृत्युको मज्जाक उडाइरहेको छ। मानवीय संवेदना र भावनाको खिल्ली उडाउँदै आरआईपी तीनवटा शब्द लेख्न हतार गरेर अनेकौं संक्रमित र आफन्तमाथि पीडा थपिरहेको छ’, उनी भन्छन्, ‘सामान्य लक्षण भएका संक्रमित पनि आत्तिएरै मर्ने धेरै छन्।’

कोरोना भाइरसबारे भ्रम छर्नेहरू पनि उत्तिकै सक्रिय देखिन्छन्। आधिकारिक नभएका सूचना सम्प्रेषण गरेर हल्ला फिजाउने अनलाइन, युटुब च्यानल पनि छन्।

त्यही भएर कतारमा बस्ने काशीनाथ पौडेलले फेसबुक हेर्न, कोरोनासम्बन्धी खबर पढ्नै छाडेका छन्। कोरोनाको पहिलो लहरदेखि सञ्जालबाटै सूचना लिने गरेका पौडेलले धेरै ‘गलत रहने’ गरेको थाहा पाए।

‘आत्मविश्वास नै घट्ने, मानसिक रूपमा विक्षिप्त बनाउने रहेछ। नेपालमा रहेका परिवारको चिन्ताले साह्रै तनाव भयो’, पौडेल भन्छन्, ‘नेपालमा यो छैन, उपचार हुन्न, अक्सिजन छैन, कोरोना लागे मरिहालिन्छ जस्ता समाचारले अति नै तनाव ल्यायो। मैले त सामाजिक सञ्जाल नै हेर्न छाडिदिएँ। आधिकारिक न्युज पोर्टल मात्रै फलो गर्ने गरेको छु।’

नुवाकोटकी निर्मला लामिछाने पनि गलत सूचनाको सिकारमा परिन्। कोरोना केही होइन भनेर हल्ला फिजाउने समूहले प्रभावमा पार्‍यो। पहिले केही होइन भनेर वास्ता गरिनन्, पछि वरपरकालाई कोरोना सर्न थालेपछि निकै तनाव लाग्यो। मृत्यु भएका व्यक्तिको कारुणिक तस्बिर र भिडियोले रातभरडर लागिरहन्थ्यो उनलाई।

बुटवलकी कुन्ता आचार्यलाई फेसबुक नचलाऊँ त आफन्त, साथीभाइ भेट्ने सजिलो माध्यम भएको छ। चलाऊँ त नहुने भिडियो र कारुणिक फोटाले अत्याउँछ। भन्छिन्, ‘जे पनि अपलोड गर्ने, पोस्ट गर्ने बानी बदल्नुपर्छ।’

पत्रकार विष्णु शर्मा सामाजिक सञ्जालमा फैलाइने भ्रमका कारण तनाव हुने बताउँछन्। कोही छटपटिएको, दुःख पाएका सूचना र तस्बिरले आफ्नो पनि अवस्था भोलि त्यस्तै हो भनेर डर लाग्ने गरेको शर्मा सुनाउँछन्।

‘कामको सिलसिलामा फिल्डमा जानै पर्ने हुन्छ। हरेक दिन संक्रमित भएँ कि भनेर डर लाग्छ। रुघा लागे, कमजोर भए पनि कोरोना सरिहाल्यो कि भन्ने लाग्छ’, उनी भन्छन्, ‘अझ फेसबुकमा सेयर हुने हावा समाचार र भिडियो हेर्दा त मरिहालिन्छ कि भनेर आत्मविश्वास नै कमजोर हुने रहेछ।’

त्यही भएर केही दिनदेखि चर्चामा छ, एउटा सन्देश। जसमा भनिएको छ, ‘मान्छेको सास गइसक्दा पनि मृतकका आफन्तको सहमति नलिइकन फेसबुकमा फोटो राखेर श्रद्धाञ्जली दिनुहुन्छ हजुरहरू। मृतकका टाढा बस्ने आफन्तहरूलाई खबर नदिएको हुनसक्छ। प्रेसर, पेनिक अट्याकजस्ता समस्या भएका आफन्तलाई तपाईंका यस्ता पोस्टले कस्तो असर पर्ला ? उनीहरूलाई पर्ने मानसिक, शारीरिक भावनात्मक, संवेगात्मक असरको जिम्मा तपाईंले लिने ? मृत्युको सूचना दिने जिम्मा आफन्तलाई नै दिऔं हुन्न र ? मृत्युजस्तो कठिन अवस्थामा अलि संवेदनशील बनौं न प्लिज।’

मनोविद गंगा पाठक सामाजिक सञ्जाललाई सूचनाको स्रोत ठान्दा धेरैले आत्मविश्वास गुमाउने गरेका बताउँछिन्। गलत सूचना तथा मृतकको फोटोले बिरामी व्यक्तिलाई असर पार्ने पाठकको ठम्याइ छ। भन्छिन्, ‘बाँचिन्छ भन्ने आशा नै हराउँछ। यसै लत्तो छाड्छन्, अन्ततः मर्छन् पनि।’

उनका अनुसार आत्मविश्वासले धेरै रोगलाई परास्त गर्न सकिन्छ। अहिलेको अवस्थामा आफूले आफैंलाई माया गर्न जरुरी रहेको उनको सुझाव छ। ‘आफूलाई मन पर्ने खाना बनाएर खाऔं। मन परेको तरिकाले सोचौं। रमाइला कहानी पढौं’, उनी भन्छिन्, ‘गलत सूचना र भ्रमले कमजोर मुटु भएकालाई धेरै असर गर्छ।’

सञ्जालमा पोस्ट गर्ने सूचनामा संयमित हुन जरुरी देखिएको उनको ठम्याइ छ। सामाजिक सञ्जाललाई आफन्तसँग भेट्ने, कुरा गर्ने माध्यम मात्रै बनाउन सुझाव दिन्छिन् उनी। उनको सुझाव छ, ‘जे देख्यो त्यही हेर्न भएन। समाचार लिंक खोल्न भएन। सकारात्मक सोच र दृढ आत्मविश्वासले आफूलाई बलियो बनाउनुस् ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij