ई–आर्थिक, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले आफूले नेपाली काँग्रेस र त्यसका सभापति शेरबहादुर देउवालाई बोकेको नभई संबिधानको र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने अभियानमा जुटेको बताएका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिगत एक बर्षदेखि योजनाबद्धढंगले संबिधान र लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्ने दुस्साहस निरन्तर जारी राखेपछि आफू त्यसका बिरुद्ध गठबन्धनमा लागेको उनले बताएका छन् । नेपाली जनताले ७० बर्षसम्म बलिदानीपूर्ण संघर्ष गरेर प्राप्त गरेको गणतन्त्र र संबिधानप्रति प्रधानमन्त्री ओली भक्षक बनेपछि त्यसबिरुद्ध लाग्नु आफ्नो जिम्मेवारी र कर्तब्य दुबै भएको नेता नेपालले बक्तब्यबाट स्पष्ट गरेका छन् ।
प्रधानमन्त्री ओलीको गणतन्त्र र पूर्णजनाधिकारसहितको यो संबिधानप्रति सुरुदेखिकै दुस्मनी रहेको पनि नेता नेपालको भनाई छ । नेपालको उन्नति, प्रगति देख्न नसक्ने बिदेशी शक्ति र प्रधानमन्त्री ओलीको गहिरो साँठगाठ रहेकाले ओली संसद बिघटनमा मात्रै सीमित नरही संबिधान र ब्यबस्था नै समाप्त पार्ने दिशातिर तीब्र गतिले अघि बढेको नेता नेपालको भनाई छ ।
संसद बिघटन र मध्याबधि निर्बाचन पनि प्रधानमन्त्री ओलीको आफ्नो एजेण्डा नभई बिदेशीकै एजेण्डा भएको नेपालको दाबी छ । अहिलेको संसदले मुलुकको राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र अरु देशबिरोधी गतिबिधि सन्चालन गर्ने स्वार्थमा धक्का लगाएपछि संसदबिरुद्ध षडयन्त्रको तानाबुना बुनिएको नेता नेपालको दाबी छ । ओली त बिदेशी स्वार्थको बुख्याचा मात्र भएको कुरा केही दिनका सरकारका निर्णय प्रमाणित गरेको पनि नेता नेपालको दाबी छ ।
भूराजनीतिकरुपमा अत्यन्त संबेदनशील हाम्रो मुलुकलाई बिदेशी स्वार्थको क्रिडास्थल बनाउन संबिधान र ब्यबस्थाबिरोधी गतिबिधिलाई ओलीले तीब्र बनाएकाले त्यसका बिरुद्ध काँग्रेससँग महागठबन्धनमा जुट्नु परेको नेता नेपालको भनाई छ । अहिलेको परिबर्तन र संबिधान निर्माण काँगे्रसकै नेत्तृत्वमा भएको हुदा यसको संरक्षणमा सहकार्य गर्नु स्वभाबिक भएको नेता नेपालले बताए । ‘हिजो राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना र पूर्णजनाधिकारसहितको संबिधान निर्माणमा हामीले जसरी लोकतान्त्रिक र देशभक्ति शक्तिहरुसँग सहकार्य गरेका थियौं, अहिलेको अबस्था त्यस्तै हो ।’ नेता नेपाल भन्छन् ‘ओलीमा राजसंस्थाको प्रेत सवार भएको हुदा लोकतान्त्रिक शक्ति एक ठाउँ उभिनु परेको छ ।’
उनले हेर्दा अहिले आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीका बिरुद्ध काँगे्रस वा सभापति देउवालाई साथ दिएको जस्तो देखिए पनि सार त्यस्तो नभएको नेता नेपालले प्रष्ट पारे । ‘प्रधानमन्त्री ओली रुपमा मात्र एमाले र कम्युनिष्ट हुन । सारमा उनी संबिधान र लोकतान्त्रिक गणतन्त्रका शत्रु हुन ।’ नेपाल भन्छन् ‘यसकाबिरुद्ध संबिधान, संसद र गणतन्त्रप्रति निष्ठावान र समर्पित शक्ति काँग्रेससँग सहकार्य स्वभाबिक हो ।’
बक्तब्यको पूर्ण पाठ
कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता – नेपालका कम्युनिष्ट पार्टीहरू एक हुन्, कम्युनिस्ट आन्दोलन एक र सशक्त होस् , जनजीविका, जनताको हित, स्वार्थ र सरोकार तथा सुशासनका पक्षमा एवम् समाजवाद उन्मुख काम गरुन् भन्ने चाहन्छन् । तर जनअपेक्षा विपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो ’नेकपा’ लाई विभाजन गर्ने काम फत्ते गरे । त्यसपछि सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्ता पंक्तिको माग विपरित एकाधिकारवादी शैलीमा पार्टीलाई चलाउने काम भयो । जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस–नहस गर्ने अभियान त्यही बिन्दूबाट शुरु गरेर कथित कारवाही र निस्कासनमा आएर पूरा भएको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा के.पी. ओलीले आफूलाई स्थापित गरेका छन् ।
केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेका छन् । कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरु उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दुखद् पक्ष हो ।
ओली सरकारको हर्कत र विवादित पक्षहरु तपाईं हामीबीच छर्लङ्ग नै छन् । ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुग्यो।निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरुले राज गरे । यसविरुद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्रहार भयो । अहिले ओली गुटले गरेको कथित कारबाही वा निस्काशन त्यसैको प्रतिरुप हो । उक्त कार्बाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु ।
यसबीचमा मैले व्यक्तिगत रुपमा र सामूहिकरुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेँ । ओलीले पार्टीलाई गम्भीर मोडमा र संकटपूर्ण अवस्थामा पुर्याए भनेर आवाजलाई आम जनसमुदाय र नेता कार्यकर्ताबीच राखें । पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरें । तर सत्ता, शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरु मनन गरेनन्, वास्ता गरेनन् बरु प्रतिशोध साँध्ने काम मात्र गरे । त्यही कारण आम जनता, नेता–कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो ।
मनोगत आधारमा र स्वेच्छाचारी ढंगले सरकार चल्दा र जनअपेक्षा अनुरुप काम नहुँदा निराशा बढ्यो । जस्तो कि राज्यका विभिन्न निकायले कोरोनाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगतरुपमा ठट्टाको विषय बनाए । ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न सकेन । हजारौंको ज्यान जाने अवस्था बन्यो । सिंगो जनताप्रति यो भन्दा ठूलो अपराध अरु हुन सक्दैन ।
आजको दिनसम्म आइपुग्दा जनसाधारण समेत केपी ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेका छन् ।
प्रतिरोधमा उत्रिने अवस्था बनेको छ । त्यसैले अब हामीमाथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ । अब सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पेको छ । ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।