ई–आर्थिक, काठमाडौं । बैंक वित्तीय संस्थाले आक्रमक रुपमा विस्तार गरिरहेका क्यू आर कोड सेवा सहकारी संस्थाहरुले पनि प्रयोग गर्न थालेका छन् । सदस्यलाई प्रविधिमैत्री छिटो र सरल सेवा प्रदान गर्ने उद्देश्यले सहकारीले पनि सो सेवा अंगिकार गर्न थालेका हुन । यसैबीच काठमाडौंको चावहिलमा रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले आफ्ना सदस्यलाई क्यू आर कोड सेवा वितरण गर्न शुरु गरेको छ ।
संस्थाले सदस्यलाई आधुनिक प्रविधिसँग जोडेर सेवा दिनका लागि तेश्रो चरणमा क्यू आर कोड सेवाको शुभारम्भ गरेको संस्थाका कार्यकारी प्रमुख फडिन्द्र कुमार खड्काले बताए ।
संस्थाले इ–सेवा सँगको सहकार्यमा उक्त कोड सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । वित्तीय कारोबारलाई प्रविधिमैत्री बनाउँदै लैजाने क्रममा संस्थाले यस अघि नै एटिएम र मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ ।
तेश्रो चरणमा क्यू आर कोड सञ्चालनमा ल्याएका कार्यकारी प्रमुख खड्काले बताए । सदस्यहरुको ब्यापार व्यवसायलाई क्यू आर कोडको प्रयोग गरी ग्राहकहरुले सामान खरिद नगदरहित भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उनको भनाई छ । यो सेवा सुरु सँगै अब शुभप्रवा सहकारीका सदस्यको पसलमा ग्राहकहरुले नगद लिएर आउनुपर्दैन ।
संस्थाले एकैदिन ४० भन्दा बढि व्यवसायी सदस्यलाई निःशुल्क क्यू आर कोड वितरण गरेको छ । यस आर्थिक वर्षभित्रमा १००० सदस्यलाई क्यू आरकोड वितरण गरिसक्ने संस्थाको लक्ष्य रहेको छ । संस्थाले सदस्यहरुलाई घरदैलो र पसलपसलमा नै गएर क्यू आर कोडमार्फत भुक्तानी गर्ने सम्बन्धी आधारभूत ज्ञान समेत दिँदै आएको छ ।

कोरोनाको दोश्रो लहर बढ्दै गएको अवस्थामा विद्युतीय माध्यमबाट सुरक्षित बैंकिङ कारोबार गर्न सहजता होस् भन्ने अभिप्रायले संस्थाले क्यू आर कोड सञ्चालनमा ल्याएको हो ।
‘सहकारी क्षेत्र अब प्रविधिमैत्री हुनुपर्छ,’ उनले भने– ‘सदस्यहरुको विश्वास जित्न र समयसापेक्ष सरल र सहज तरिकाबाट सेवा प्रवाह गर्नका लागि कारोबारलाई प्रविधिमैत्री बनाउँदै लानु जरुरी छ ।’
संस्थाले चाबहिल चुच्चेपाटी क्षेत्रमा आफ्नै भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया समेत अघि बढाएको छ । एक अब्बल, दिगो र विश्वसनीय नमूना संस्था बनाउन आफुहरु लागि परेको कार्यकारी प्रमुख खड्काको भनाई छ ।
कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्प रहँदा पनि चालु आ.व.मा संस्था २० करोडको हाराहारीमा कारोबारलाई बृद्धि गर्न सफल भएको छ । गत वर्षको लकडाउन र निषेधाज्ञाका बीचमा समेत सदस्यहरुलाई घरदैलोमा नै गएर वित्तीय सेवा प्रदान गरेकाले प्रतिकूल अवस्थामा पनि कारोबारमा वृद्धि गर्न सकेको खड्काले जनाए । संस्थामा हाल ११ हजार सदस्य रहेको छन् भने हालसम्म कुल कारोबार ८० करोड पुगेको संस्थाले जानकारी दिएको छ ।