ई–आर्थिक, काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकार समाजलाई १ लाख १ हजार १५१ रुपैया प्रदान गरेको छ । संस्थाको १३औं स्थापना दिवस एवं नयाँ वर्ष २०७८ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका अध्यक्ष भोलानाथ पाठक उक्त चेक सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाललाई हस्तान्तरण गरेका हुन् । समाजले स्थापना गरेको ‘सिजेएन पत्रकार हितकोष’ मा उक्त रकम जम्मा हुनेछ ।
सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई सहयोग पु¥याउने उद्देश्यका साथ स्थापना भएको उक्त कोषमा पाँचताराको तर्फबाट उक्त राशि प्रदान गर्न पाउँदा आफूलाई खुसी लागेको अध्यक्ष पाठकले जनाए । सहकारी अभियानको प्रवर्द्धनका निम्ति निरन्तर कलम चलाउने पत्रकारहरुसँग जोडिएर संस्थाले आगामी दिनमा पनि सहकार्य गर्दै जाने उनले बताए ।
सिजेएनका अध्यक्ष खिलानाथ दाहालले पत्रकारहरुको वृत्तिविकास र हकहितका लागि समाजले काम गर्दै आएको बताए । भविष्यमा आइपर्न सक्ने दुर्घटना वा भैपरीको अवस्थामा पत्रकारहरुलाई राहत प्रदान गर्ने उद्देश्यले सिजेएन हितकोष निर्माण गरिएको उनले जनाए । त्यसका साथै उक्त कोषमार्फत पत्रकारहरुको क्षमता अभिवृद्धि देखि सम्मान र पुरस्कार समेत प्रदान गर्ने व्यवस्था छ । कोषमा रकम प्रदान गरेकोमा पाँच तारा साकोस परिवारलाई अध्यक्ष दाहालले धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरे ।
पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व घोषणा
संस्थाले स्थापना दिवसकै अवसरमा वार्षिक रुपमा गर्दै आएको पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान घोषणा गरेको छ । संस्थाले २०७६ का लागि सहकारी अभियन्ता एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेललाई सम्मान गर्ने भएको छ । त्यसैगरी २०७७ का लागि सहकारी अभियन्ता एवं जिल्ला सहकारी संघ ईलामकी अध्यक्ष विष्णुकुमारी लिम्बु दाहाललाई सम्मान गर्ने भएको छ ।
संस्थाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष सहकारी क्षेत्रमा योगदान पु¥याउने अभियन्ताहरुलाई सम्मान गर्दै आएको भएपनि गत वर्ष कोरोना महामारीका कारण भएको लकडाउनले सम्मान कार्यक्रम स्थगित भएको थियो । यस वर्ष पनि कोरोना भाइरसको जोखिम रहेकाले घोषित व्यक्तित्वद्वयलाई आगामी साधारणसभामा सम्मान गरिने संस्थाले जनाएको छ । संस्थाले सहकारी व्यक्तित्वहरुलाई नगद ११,१५१ रुपैया र ताम्रपत्रसहित सम्मान गर्ने भएको छ ।

संस्थाका ज्येष्ठ सदस्य लक्ष्मणप्रसाद आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा मन्तब्य राख्दै आचार्यले संस्थाले सयौं वर्षसम्म सदस्य र समुदायको सेवा गर्न सकोस् भन्ने शुभकामना दिए ।
त्यसैगरी निजामती ट्रेड यूनियनका का.वा. अध्यक्ष भोला पोखरेलले शुभकामना मन्तब्य राख्दै संविधानले अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको र मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन, रोजगारी प्रदान गर्न र धेरैलाई व्यवसायी बनाउने बाटोमा सहकारीले काम गरेको उल्लेख गरे । राजनीतिक स्थायित्व भयो भने मात्रै आर्थिक, सामाजिक उपलब्धी हासिल गर्न सकिने बताउँदै उनले पछिल्लो परिस्थितिले मुलुकलाई अस्थिरतातर्फ धकेलेको जनाए । रचनात्मक र श्रृजनात्मक रुपमा काम गर्दै सदस्यहरुको हितमा लाग्न उनले सुझाव दिए ।
संस्थाका कानुनी सल्लाहकार छविरमण निरौलाले ‘बचत गर्नु राम्रो, पाँच तारामा गर्नु झनै राम्रो’ भन्ने मुल नाराबाट अभिप्रेरित भएर संस्था अगाडि बढेको र मुलुकभरका संस्थाले केहि सिक्न सक्ने गरी उदाहरणीय काम गर्न सकेकोमा खुशी व्यक्त गरे ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष भोलानाथ पाठकले जुन देशमा अग्रजको सम्मान हुँदैन त्यो देशमा सभ्यताको विकास हुँदैन भन्ने कुरालाई महशुस गरेर संस्थाले सहकारी अभियन्ताहरुलाई सम्मान गर्ने कामको थालनी गरेको बताए । ‘अग्रजको सम्मान सभ्यताको पहिचान’ भन्ने भावलाई आत्मसात गर्दै संस्थाले कुनै जाति, वर्ग, धर्म र राजनीतिक पक्षलाई नहेरी योगदानको आधारमा अभियन्ताहरुलाई सम्मान गर्दै आएको उल्लेख गरे । एघारौं पटकसम्म संस्थाले स्थापना दिवसको अवसरमा निरन्तर सम्मान गर्दै आएको भएपनि गत वर्ष कोभिड १९ का कारण स्थगित भएको सम्मान कार्यक्रमलाई यस वर्ष सँगै जोडेर भव्यताकासाथ गर्ने तयारी भएको भएपनि पुनः कोभिड १९ को संक्रमण बढेकाले स्थगन गर्नु परेको बताए ।
‘संस्थाले नियमित बचत गर्ने र ऋणमा तिरेको ब्याजका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट रकम दिँदै आएको छ’ उनले थपे, ‘सहकारी ऐन २०७४ आउनुभन्दा अगाडिदेखि नै हामीले त्यसप्रकारको व्यवस्था गरी रकम वितरण गर्दै आएका थियौं ।’
संस्था विकास कोषमा मात्रै १ करोड रकम जम्मा भइसकेको र यस वर्ष १० प्रतिशत सदस्यहरुलाई दिने उनले जनाए । संस्थामा १५ वर्षसम्म नियमित बचत गर्ने सदस्यलाई चाडपर्व बोनसको रुपमा ३ हजार रुपैया उपलब्ध गराउने भएको छ । त्यसैगरी संस्थाले १० लाखसम्मको ऋणमा अनिवार्य बीमा गर्न शुरु गरेको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई ३ देखि ५ हजार रुपैया वार्षिक रुपमा उपलब्ध गराउँदै आएको छ । सामाजिक क्षेत्रमा समेत संस्थाले श्रोतसाधनले भ्याएसम्म सहयोग गर्दै आएको जनाएको छ । संस्थाले अल्पकालिन र दीर्घकालिन योजना बनाएर त्यसकै आधारमा सदस्य र समुदायको उन्नतिका लागि काम गर्ने पाठकले बताए ।
कार्यक्रममा संस्थाका शिक्षा समित संयोजक उत्तम राजभण्डारी र लेखा सुपरीवेक्षण समिति संयोजक सुशील प्रसाईंले आफ्नो शुभकामना मन्तब्य राखेका थिए भने व्यवस्थापक राधा कडरियाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
संस्थाले हरेक वर्ष प्रकाशन गर्दै आएको स्मारिका र क्यालेण्डर समेत सोही अवसरमा विमोचन गरी सदस्यहरुलाई वितरण गरिएको थियो । कार्यक्रममा पाँच वर्ष भन्दा बढी काम गर्ने संस्थाका लेखा अधिकृत राम थापालाई सम्मान गरिएको थियो । नियमित पाँच पटक भन्दा बढि रक्तदान गर्ने रक्तदाताको नाम समेत सम्मान गर्ने घोषणा गरेको छ ।