२०८३ साउन ९ शनिबार

राज्यले बिर्सेको ताक्लाकोट नाका, २७ वर्षदेखि राजनीतिक आश्वासन भने कायमै

ई आर्थिक    सोमबार, चैत्र १६ २०७७
5.3K
Shares
राज्यले बिर्सेको ताक्लाकोट नाका, २७ वर्षदेखि राजनीतिक आश्वासन भने कायमै

बझाङ : छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिम प्रदेशको ताक्लाकोट नाकामा राज्यको नजर अझैसम्म पर्ने सकेको छैन ।

नाका सञ्चालनमा ल्याउन सके सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत सुदूर नेपालको आर्थिक स्तर माथि उठ्न सक्ने भए पनि राज्यको नजर नपुगेको हो । बझाङ सदरमुकाम चैपुरबाट झन्डै १ सय ४ किलोमिटरको दूरीमा रहेको ताक्लाकोट नाका सञ्चालन गर्नुपर्छ भनेर २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घोष गरेसँगै यो चर्चाको विषय बनेको हो ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गर्ने क्रममा यो नाका सञ्चालन गर्ने आश्वासन दिए । अधिकारीको सुदूरपश्चिम भ्रमण नसकिँदै सरकार ढल्ने अवस्थामा पुगेपछि उनले दिएको आश्वासन पनि केही दिनका लागि मात्र भयो ।

स्थानीयवासीका अनुसार त्यसपछिका दिनमा देशमा भएको राजनीतिक उतारचढावका कारण यो विषय गौण बन्यो । २०७० सालको संविधानसभाको निर्वाचनमा बझाङ आएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई र माधव नेपाललगायतका शीर्ष नेताहरूले पनि सुदूरपश्चिमको विकासका लागि ताक्लाकोट नाका खोलिने बताएका थिए ।

आफ्नो पार्टीको पहिलो एजेन्डा चैनपुर ताक्लाकोट सडक भएकाले चाँडै नै ताक्लाकोट नाका सञ्चालनमा आउने बताएपछि सुदूरपश्चिमवासीमा केही आशा पलाएको थियो । विभिन्न समयमा ताक्लाकोट नाका सञ्चालनका विषयमा राज्यको ध्यानाकर्षण गरिएको भए पनि सरकारको ध्यान जान सकेन ।

आफूले बेलाबेलामा यो नाका खोल्नका लागि संसद्मा बोल्दै आएको प्रतिनिधिसभा सदस्य आशाकुमारी विक बताउँछिन् । उनले केही दिनअघि मात्र आफूले ताक्लाकोट नाका सञ्चालनका लागि कछुवा गतिमा निर्माण भइरहेको चैनपुर ताक्लाकोट सडकखण्डको विषयमा सरकारको ध्यानाकर्षण गराएको बताइन् ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी पनि ताक्लाकोट नाका सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश र केन्द्र सरकारसम्म गुहारेको भए पनि आफ्नो गुनासो कसैले नसुनेको बताउँछन् ।

ताक्लाकोट नाका सञ्चालनका लागि कसैले पनि पहल नगर्ने र चुनावी प्रचारको मुख्य एजेन्डा मात्र बन्ने गरेको छ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेताहरूकै कमजोरी र लाचारीपनका कारण नाका सञ्चालनमा आउन नसकेको कतिपयको भनाइ छ ।

देश संघीयतामा गइसकेपछि झन् नाका सञ्चालनका लागि पहल हुनुपर्ने भए पनि यो विषयमा कुनै पनि सरकारले चासो नदेखाएको उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली बताउँछन् ।

“नाका सञ्चालनका लागि प्रदेश सरकारले कहिल्यै कुरो उठाउँदैन । कुलो, नहर, पुल, मन्दिर बनाउने काम मात्र स्थानीय सरकारको हो र पहल त गर्नुप-यो । प्रदेश सरकारले त प्रदेशको गौरवका आयोजना निर्माण गर्नुपर्ने हो । प्रदेश सरकारलाई ताक्लाकोट नाका पनि मेरै प्रदेशमा पर्छ भन्नेसम्म थाहा छैन,” उनले भने, “ताक्लाकोट नाका सञ्चालनमा ल्याउन सके व्यापारिक मात्र नभई पर्यटन व्यवसायसमेत फस्टाउने देखिन्छ । सुदूरपश्चिमका साना हिमाल आरोहण गर्न चाहने र जडीबुटीको विषयमा अध्ययन–अनुसन्धान गर्न चाहनेका लागि पनि आकर्षणको केन्द्र हुनेछ ।”

त्रिदेशीय व्यापार र पर्यटनको सम्भावना

ताक्लाकोट नाकाबाट नेपाली व्यापारीमार्फत भारतीय व्यापारीहरूले खासाको सामान दिल्लीसम्म पु¥याउने गरेका छन् । चीनबाट भारतमा बढीजसो इलेक्ट्रोनिक सामान जाने गरेको छ ।
भारतको राजधानी नयाँ दिल्लीबाट नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरको महेन्द्रनगरसम्मको दूरी ४ सय किलोमिटरको हाराहारीमा छ । महेन्द्रनगरबाट बझाङ सदरमुकाम चैनपुर पुग्न ३ सय किलोमिटरको यात्रा गर्नुपर्छ । चैनपुरदेखि चीनको सिमाना उरै भन्ज्याङसम्म ८० किलोमिटर लम्बाइ अनुमान गरिएको छ ।

चीन सरकारले ताक्लाकोटसम्म १६ किलोमिटर सडक निर्माण गरिसकेको छ । यसरी दिल्लीबाट झन्डै ७ सय किलोमिटरको सडक दूरीमा त्रिदेशीय नाका जोड्ने नेपालको सबैभन्दा छोटो मार्ग हो । यस हिसाबले पनि ताक्लाकोट नाका त्रिदेशीय व्यापारको केन्द्र बन्ने देखिन्छ ।

दुवै देशतर्फ निर्यात गर्न सकिने भएकाले यो नाका खुलेमा व्यापारिक हिसाबले सबैभन्दा बढी फाइदा नेपाललाई पुग्ने देखिएको छ । ताक्लाकोटमा कृषि, पशु र काठजन्य उत्पादनको राम्रो बजार छ ।

ताक्लाकोटमा मात्र नभएर तिब्बतभरि र पूर्वी चीनमा नेपाली उत्पादनको माग उच्च रहेको छ । चीनको ताक्लाकोट बजारमा नेपालीले वर्षौंदेखि हाते होजियारीका सामान, नेपाली गलैँचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामानहरूको व्यापार गर्दै आएका छन् ।

नेपाल सरकारले चीन सरकारसँग समन्वय गरेर निर्यात सहज बनाउन सके ताक्लाकोट नाकाबाट त्रिदेशीय व्यापार गर्न सजिलो हुने ताक्लाकोटमा व्यवसाय गर्दै आएका बझाङको साइपाल गाउँपालिकाका जगत तामाङ बताउँछन् ।

“लामो दूरीका कारण ढुवानी भाडा बढी हुने भएकाले सामान महँगो पर्ने र चीनसँग जोड्ने गरी सडक नबनेका कारण अप्ठ्यारो हुने गरेको छ । ताक्लाकोटसम्म सडक खोल्ने र वैधानिक निकासी प्रक्रियामा जाने हो भने ढुवानी लागत कम भएर उत्पादक तथा व्यापारीलाई पनि फाइदा हुनेछ,” उनले भने ।

साइपाल, राक्सियो, इङल्दार, नीलकट्टीलगायतका साना हिमाल यही ताक्लाकोट बाटोमा पर्छन् । यो नाका भएर सडक निर्माण भई यातायात सेवा सञ्चालन आएमा पर्यटकहरू भित्रिने हुनाले पर्यटन व्यवसाय फस्टाउने देखिन्छ ।

सुदूरपश्चिमका साना हिमाल आरोहण गर्न चाहने र जडीबुटीको विषयमा अध्ययन–अनुसन्धान गर्न चाहनेका लागि पनि आकर्षणको थलो हुने सम्भावना रहेको छ । सहज आवागमन हुन सकेमा पर्यटकहरूका लागि गन्तव्य र आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको नेपाल पर्वतारोहण संघ साइपाल हिमाल शाखाका सचिव तथा पर्यटन अभियन्ता किशोर खड्का बताउँछन् ।

उनले भने, “दसांै शताब्दीभन्दा अघि भएका घटनाहरूका जीवन्त प्रमाण अहिलेसम्म पनि भेटिने यो मार्ग धार्मिक तथा ऐतिहासिक अध्ययनमा रुचि राख्नेहरूका लागि मात्र नभएर पदयात्रा गर्नेहरूलाई पनि अनौठो अनुभूति गराउन सक्ने भएकाले पर्यटकहरूलाई तान्न सकिन्छ ।”

यार्सागुम्बालगायत बहुमूल्य जडीबुटी र हिमाली जैविक विविधताको अध्ययन–अनुसन्धानका लागि पनि उपयुक्त भएकाले यसमा रुचि राख्नेहरूका लागि पनि यो क्षेत्र आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको छ ।

नेपाल सरकार र नेपाल पर्यटन बोर्डले प्राथमिकताका साथ प्रवद्र्धन गर्न सकेमा ताक्लाकोट नाकाको माध्यमबाट देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने एउटा दरिलो आधार हुने उनको भनाइ छ ।

भारतको पश्चिमी क्षेत्रमा झन्डै १० करोड भारतीयको बसोबास गर्छन् । सबै भारतीय हिन्दूहरूको इच्छा नै एक पटक कैलाश पुग्ने हुन्छ । झन्डै ३३ सय किलोमिटरको यात्रा गरी तातोपानी र लिपुलेकको बाटो भएर भारतीय तीर्थयात्रीहरू खर्चिलो यात्रा गरेर कैलाश मानसरोवर पुग्ने गरेका छन् ।

कछुवा गतिमा चैनपुर–ताक्लाकोट सडक

छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्र जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माण कार्य कछुवा गतिमा भइरहेको छ । बझाङका सांसदहरूको पहल र व्यापक जनदबाबका कारण सरकाले आव २०७३/०७४ मा यो नाकालाई औपचारिक रूपमा खोल्न चैनपुर ताक्लाकोट सडकको नाममा पहिलो पटक ४० करोड विनियोजन गरेको थियो । यो चैनपुर–ताक्लाकोट सडकको नाममा आएको पहिलो बजेट हो ।

चीनसँग जोड्ने सदूर तथा मध्यपश्चिमको सबैभन्दा छोटो व्यापारिक विकासको मुख्य प्रवेशद्वारका रूपमा चिनिने ताक्लाकोट नाकालाई जोडने सडक निर्माणका लागि आर्थिक वर्षमा पनि ९० करोड रकम विनियोजन गरेको थियो ।

सेती लोकमार्गअन्तर्गत उत्तर खण्डमा पर्ने चैनपुर–ताक्लाकोट सडक निर्माणका लागि दुईवटा कम्पनीले काम गरिरहेकोे भए पनि निर्माण कार्यले गति लिन सकेको छैन । यो सडक छिटो निर्माण गर्न सेती लोकमार्गअन्तर्गत उत्तरखण्ड (चैनपुर–ताक्लाकोट) मार्गको छुट्टै कार्यालयसमेत स्थापना भएको छ ।

सडक निर्माणका लागि दुई खण्डमा काम भइरहेको छ । बझाङ सदरमुकाम चैनपुरदेखि तल्कोट गाउँपालिकाको रूपातोलासम्म १८ किलोमिटरमा लुम्बिनी र राजेन्द्र निर्माण सेवा र रूपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ३० किलोमिटर सडक खण्डमा स्वच्छन्द नागार्जुन जेभी कम्पनीले काम गरिरहेका छन् । दुई खण्डमा निर्माण कार्य भइरहेको भए पनि सडकको भौतिक प्रगति सन्तोषजनक छैन ।

चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मानिएको यस सडकको लम्बाइ १ सय १८ किलोमिटर छ । साइपाल गाउँपालिकाको धुलीदेखि सीमा क्षेत्र उरै भन्ज्याङसम्म ६० किलोमिटरको डीपीआरसमेत तयार भइसकेको छ ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण यो सडक खण्डमा अपेक्षित काम हुन सकेको छैन । सदरमुकाम चैनपुरदेखि रूपातोला सडकलाई चौडा बनाउन २०७३ मा ठेक्का सम्झौता भएर काम सुरु गरेको भए पनि निर्माण कम्पनी लुम्बिनी र राजेन्द्र निर्माण सेवाले हालसम्म १२ किलोमिटर मात्र चौडा गर्ने काम सकेको छ ।

रूपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ३० किलोमिटर सडकखण्डमा पनि हालसम्म १४ किलोमिटर ट्र्याक खोल्ने काम सम्पन्न भए पनि केही ठाउँमा ब्लास्टिङ गर्नुपर्ने र विस्फोटक पदार्थका लागि आवश्यक प्रक्रियामा जाँदा ढिलो हुन गएको कम्पनीले जनाएको छ ।

निर्माणका बेला स्थानीयले गर्ने अवरोध र ट्र्याक खोल्ने क्रममा कडा खालको चट्टान लागेकाले मेसिनले काम गर्न सक्ने अवस्था नभएको र विस्फोटक पदार्थ आवश्यक भएकाले निर्माण कार्यमा केही ढिलाइ भएको ठेकेदार कम्पनीले जनाएको छ ।

साइपाल गाउँपालिकाको धुलीसम्म नै ठूला सवारी सञ्चालन गर्न मिल्ने गरी ८ मिटर चौडा सडक निर्माण हुँदै गरेको समाचार मकरराज धामीले आजको कारोबारमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij