२०८३ साउन ९ शनिबार

अझै खुला भएन कैलालीको सत्ती भन्सार नाका

ई आर्थिक    आइतबार, चैत्र १ २०७७
8.9K
Shares
अझै खुला भएन कैलालीको सत्ती भन्सार नाका

भजनी : सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन। नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् ।

खुला सिमानाका कारण नेपाली तथा भारतीय नागरिक लुकिछिपी नेपाल-भारत प्रवेश गर्ने गरेको भए पनि सीमा प्रहरी मुकदर्शक जस्तै बनेको छ। पहिले सो भन्सार कार्यालयमा मात्र सीमासुरक्षा प्रहरीको क्याम्प रहँदा लुकिछिपी आउने क्रमलाई रोक्न चुनौती रहे पनि अहिले एक किलोमिटरको दूरीमा सीमा सुरक्षा प्रहरीको क्याम्प स्थापना भएको छ।

अवैधरुपमा प्रवेश गर्नेको क्रम भने घट्नुको साटो दिन प्रतिदिन बढ्दै गएको छ। सरकारले भारतीय नागरिकलाई कोरोना नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरेको छ ।

भारतको तिकुनियाँका हरिश कुरेसीले प्रहरीको आँखा छलेर आफूहरु कामका लागि नेपाल प्रवेश गरेको जानकारी दिए। ‘नेपाल नआएर घरमा चुलो बल्दैन । दिनभरी सङ्कलन गरेको कवाडी सामान बेचेर घर चलाउछौँ’, उनले भने, ‘प्रहरीलाई पैसा दिएर भए पनि नेपाल आउनु हाम्रो बाध्यता हो । दैनिक २०० भन्दाबढी दैनिक नेपाल आउछन् होला।’

खक्रौला बिओपीका प्रमुख पदमराज भट्टले भन्सारमा सामान आयात निर्यात भए पनि मानिसको आवतजावत भने नभएको दाबी गरे। उनले भारतीय नागरिक नेपाल प्रवेश गरेको सूचना आफूहरुलाई पनि आएको जनाउँदै लुकिछिपी प्रवेश गर्ने ती नाकामा आफ्नो कार्यक्षेत्र नपरेको बताए। ‘पहिले खक्रौला बिओपीबाटै हेर्नुपर्ने अवस्था थियो। अहिले कौवाखेडा, कालाकुण्डमा बिओपी स्थापना भइसकेपश्चात् हाम्रो कार्यक्षेत्र घटेको छ।’, उनले भने, ‘हाम्रो क्षेत्रबाट कोही पनि प्रवेश गरेको छैनन् । हामीले मातहतको निकायमार्फत पाएको आदेशलाई पूर्णरुपमा कार्यान्वयन गरेका छौँ।’

कालाकुण्डा बिओपी प्रमुख केशव गोइलाले भारतीय नागरिकलाई रोक्नका लागि आफैँ लागिपरेको जानकारी दिदैँ आफ्नो कार्यक्षेत्रभन्दा बाहिरबाट भारतीय नागरिक प्रवेश गर्ने गरेको बताए। ‘पथरैया र मोहना नदीको सङ्गमस्थलबाट भारतीय नागरिक नेपाल प्रवेश गरिरहेका छन्।

पथरैया नदी तरेर जानसक्ने अवस्था छैन’, उनले भने, ‘नदीका कारण पनि अवैधरुपमा आवागमन बढेको छ। सबैभन्दा बढी नागरिकको आवागमन हुने अहिलेको मुख्य प्वाइन्ट जसबहादुर घाट हो।’

चोरीका नाकाबाट भारतीय नागरिक मात्र नभइ त्यही मात्रामा नेपाली भारतीय बजार दैनिक उपभोग्य सामानका लागि जाने गरेका छन् । ‘हामीलाई आवागमनका लागि निर्देशन त छैन । तर केही व्यावहारिकरुपमा पनि काम गर्नुपर्ने अवस्था हुन्छ।’ उनले भने।

मरियाघाट बिओपी प्रमुख मुक्ति खड्काले प्रहरीले २४ सै घण्टा ड्युटी दिन नसक्ने जनाउँदै प्रहरीका आँखा छलेर नागरिकको आवागमन हुने गरेको बताए। ‘एक क्षेत्रमा गयो, अर्को क्षेत्रबाट प्रवेश गर्छन्। हामीले प्रयास भने गर्दै आएका छौँ’, उनले भने, ‘भारतीय नागरिकसँग स्थानीयको पनि संलग्नता भएका कारण प्रहरी आएको खबर उनीहरुलाई पुर्‍याउने गरेका छन्।’ नदीकै कारण सीमा सुरक्षामा चुनौती थपिएको उनी बताउँछन्।

अहिले भारतसँग जोडिएका सीमानाका खुकुलो हुँदै जाँदा र नागरिकको आवागमन बढ्दा भन्सार कार्यालयको राजश्व संकलनमा समेत गिरावट आएको छ। भन्सार कार्यालयमा अघिल्ला पाँच महीनाको तुलनामा पुस र माघ महीनामा राजस्वमा गिरावट आएको सत्ती भन्सार कार्यालय खक्रौलाका भन्सार प्रमुख विमलकुमार शाहले बताए।

कार्यालयले गत मङ्सिर महीनासम्ममा वार्षिक लक्ष्य पूरा गरिसकेको भएपनि पछिल्ला दुई महीनामा राजस्व सङ्कलनमा केही कमी देखिएको उनी बताउँछन्। उनका अनुसार मङ्सिरमा रु एक करोड ४८ लाख ४७ हजार, पुसमा रु एक करोड ४२ लाख ४७ हजार र माघमा रु एक करोड ३४ लाख २५ हजार राजस्व संकलन भएको थियो।

अहिले जिल्लाका सीमाक्षेत्रमा १४ बिओपी स्थापना भएका छन्। भन्सार सीमाबाट आवागमन असहज हुन थालेपछि नागरिकले चोरीका सिमानाको प्रयोग गर्दै आएका छन्। यसले सीमावर्ती क्षेत्रमा चोरीका घटनमा समेत वृद्धि भएको छ। गाईभैँसी, बाख्रा र अन्य घरायसी सामान चोरी हुन थालेपछि स्थानीय त्रसित छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij