२०८३ साउन ९ शनिबार

सरकारले करिब ४२ करोड लगानीमा पाउडर दूध प्लान्ट निर्माण थाल्यो

ई आर्थिक    आइतबार, चैत्र १ २०७७
6.3K
Shares
सरकारले करिब ४२ करोड लगानीमा पाउडर दूध प्लान्ट निर्माण थाल्यो

ई–आर्थिक, काठमाडौं । सरकारको लगानीमा पाउडर दूध उत्पादन गर्ने प्लान्ट र सोको भवन निर्माण शुरु गरिएको छ । बाग्मती प्रदेश राजधानी हेटौँडामा प्रदेश सरकारले ४१ करोड २२ लाख ७१ हजार रुपैयाँ अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीमा पाउडर प्लान्ट र सोको व्यवस्थापनका लागि आवश्यक भवन निर्माण गर्न थालिएको हो ।

प्लान्टले वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउनका लागि सहज हुनेछ । उद्योग स्थापना भएर रोजगारी सिर्जना गरेसँगै किसानले धेरै गाई, भैँसीपालना गरेर रोजगारी पनि सिर्जना हुने निश्चित छ ।

सो प्लान्टबाट बाग्मती प्रदेशसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहट र वाग्मती प्रदेशको चितवन र मकवानपुरका करीब २२ हजार कृषक परिवारको दैनिक ६० हजार लिटर दूध खरीद गरी दैनिक पाँच मेट्रिक टन धुलो दूधको उत्पादन गरी प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ ।

पाउडर प्लान्टमा महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट दूध आयात गर्न सकिनेछ । प्रदेश दुग्ध विकास बोर्डद्वारा निर्माण गरिने उक्त भवन करीब डेढ वर्षभित्रै निर्माण सम्पन्न गरी पाउडर दूध प्लान्ट सञ्चालन गर्ने लक्ष्य रहेको प्रदेश कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

प्लान्टमा दैनिक ६० हजार लिटर दूधबाट पाँच मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य रहेको छ । चालू आर्थिक २०७७÷७८ वर्षको पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौँ इजी इन्फा प्रालिले एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम थालेको थियो । कम्पनीले रु ४५ करोड १२ लाख ७० हजार लागत अनुमान गरिएको प्लान्टको निर्माण रु ४१ करोड २२ लाख ७१ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij