ई–आर्थिक, काठमाडौं । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आएको यस एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म सस्तो डिलमार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ ।
यस बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहक महानुभावहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको छ । बैंक र सस्तो डिल बीचको समझदारीअनुसार २०७७ फाल्गुन १५ देखि प्रत्येक शनिबार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्नुहुने भएको छ ।
यसका लागि ग्राहक महानुभावहरूले सामग्री गरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्य दिनपछि बैंकले निजले प्राप्त गर्नुभएको नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था समेत गरेको छ ।
यस योजनामा यस बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिनुभएका ग्राहक महानुभाव सहभागी हुन सक्नुहुनेछ । यसका लागि ग्राहक महानुभावहरूले बैंकको आईसर्भ डिजिटल सेवा आईसर्भ डट एनआईसीएसिया डट कममा रहेको कार्ड सम्बन्धी सेवाहरूबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श सुचारु गरी अनलाईन भुक्तानी गर्न सक्नुहुनेछ ।
अनलाइन किनमेल गर्नेहरूको संख्यामा उल्लेख्य बृद्धि भएसँगै अनलाइन भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेकवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पु¥याउन यस योजनाले सहयोग गर्ने बैंकले विश्वास लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बैंकले जनाएको छ ।
२२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंकको भनाई छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जानकारी दिएको छ ।